काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको छ । पटक–पटक स्पष्टीकरण सोध्दै दुःख दिएको सरकारले उनलाई उर्जा आयोगको विज्ञ बनाउँदै कार्यकारी निर्देशकको पदबाट हटाउने तयारी गरेको हो ।
घिसिङलाई हटाउनकै निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रालय स्रोतले जनाएअनुसार आजको बैठकले घिसिङको विषयमा निर्णय लिनेछ ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालिन ओली नेतृत्वको सरकारले नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई आयोगको विज्ञ बनाउँदै प्राधिकरणबाट बिदा गरेको थियो । अहिले सोही शैलीमा नै घिसिङलाई हटाउने तयारी ओली सरकारले गरेको छ ।
स्रोतले बताएअनुसार घिसिङलाई हटाएर प्राधिकरणमा ओली निकटका व्यक्तिलाई ल्याउने तयारी छ । जसको निर्णय पनि आज बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
गत असार ३० मा चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त ओलीले सुरुदेखि नै एक सुत्रीय एजेन्डा बनाएर घिसिङलाई हटाउन लागि परेका थिए । डेडिकेटेट तथा ट्रंक लाइन विवादमा केही उद्योगी तथा व्यवसायीको पक्षमा वकालत गर्दै आएका ओलीले योबिचमा घिसिङलाई हटाउन अनेकन उपाय अपनाएका थिए ।
उनले अभ्यासमै नभएको शैलीमा घिसिङलाई निर्देशन दिएर अप्ठ्यारो पार्ने, सार्वजनिक लेखा समितिमार्फत छानबिन गर्न सिफारिस गर्ने र विभिन्न नाममा स्पष्टीकरण माग्ने गरेका थिए । उनले घिसिङलाई हटाउनकै निम्ति छानबिन आयोग नै गठन गरेका थिए ।
यद्यपि, विवादमा पर्ने डरले आयोगको नेतृत्वको जिम्मेवारी पाएका पूर्वन्यायाधीशले नै काम गर्न अस्वीकार गरेपछि ओली उक्त योजनामा असफल बने । तर, घिसिङ हटाउने योजनामा अडिग ओलीले हितेन्द्रदेवको नजिरलाई प्रयोग गर्ने तयारीमा पुगेका हुन् ।