काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । साताव्यापीरूपमा बसेको एकीकृत समाजवादीको स्थायी समितिको बैठकले आफ्नै पार्टी निर्माणमा ध्यान दिने निर्णय गरेको छ भने दुई दिन बसेको नेकपाको केन्द्रीय समिति बैठकले पनि आफ्नै पार्टी निर्माण अभियान चलाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्नु तत्कालीन नेकपा निर्माणको हविगत दोहोरिने निष्कर्ष निकालेको छ । “हामीले धेरै वर्ष भएको छैन, एमाले र माओवादीबिच एकता गराएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेको, त्यसको परिणाम के भयो, सबैलाई थाहा छ”, एकीकृत समाजवादीका स्थायी समिति सदस्य साध्य बहादुर भण्डारी भन्छन्, “त्यही नियति माओवादी केन्द्रसँग एकता गरेर दोहोर्याउन नहुने निष्कर्ष स्थायी समितिको छ, बैठकबाट हामीले सबैभन्दा पहिला आफ्नै पार्टी निर्माणमा जोड दिनुपर्ने निष्कर्ष पनि निकालेका छौँ ।”
स्थायी समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले माओवादी केन्द्रसँग एकता गर्न नहुने मत राखेको पनि उनले सुनाए । विशेषगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोली र व्यवहार भरोसायोग्य नभएको धारणा नेताहरूले राखेको भण्डारीले बताएका छन् ।
यद्यपि, एकीकृत समाजवादीले कुनै पनि दलसँग सहकार्यको सम्भावना नरहेको भन्ने निष्कर्ष ननिकालेको उनले बताए ।
यता, विप्लव नेकपाले प्रचण्डबाट कुरा एउटा र व्यवहार अर्को भएको ठहर गरेको छ । कपिलवस्तुको शिव गढीमा बसेको विप्लव नेकपाको केन्द्रीय समितिको बैठकले प्रचण्डले एकताका नाममा धोका दिने काम गरेको निष्कर्ष निकाल्दै तत्कालका लागि एकताभन्दा वामपन्थी धुव्रिकरणमा आफूलाई होम्ने निर्णय गरेको हो ।
“माओवादी केन्द्रसँग पटक–पटक पार्टी एकता गर्ने गरी छलफल भयो, हामीले ९ महिनाअघि एकताका लागि भन्दै कार्यदल पनि बनायौं । यद्यपि, माओवादी केन्द्रबाटै बेवास्ता भयो”, पार्टी बैठकबारे नेकपाकी पोलिटब्युरो सदस्य सावित्री दुराले भनेकी छिन्, “कता–कता एकताको चर्चा चलाउने र राजनीतिक लाभ लिने स्थिति त भएन भन्ने हाम्रो आशंका हो, बैठकले एकताभन्दा धुव्रिकरणको नीतिलाई प्राथमिकतामा राखेको छ, पार्टी निर्माणमा अघि बढ्ने निर्णय गरेका छौँ ।”
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पूर्ण विश्वास मान्न नसकिने अवस्था रहेको ब्रिफिङ पार्टी महासचिव विप्लवले गरेका थिए । “उहाँले बाहिर एकता भइहाल्छ भनेर चर्चा चलाउनुहुन्छ, भित्र भेट हुँदा केही कुरा हुँदैन, उहाँको इच्छा नै एकता गर्ने पक्षमा होइन कि भन्ने देखियो”, बैठकमा विप्लवले गरेको ब्रिफिङबारे दुराले भनिन् ।
सत्ताबाट बाहिरिएसँगै प्रचण्डले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सहित एकीकृत समाजवादी र विप्लव नेकपासँग एकताको चर्चा चलाएका थिए । जसका निम्ति प्रचण्डले माओवादी केन्द्रबाट नेता कृष्णबहादुर महराको नेतृत्वको वार्ता समिति पनि बनाएका थिए । जसमा गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत सदस्यको रूपमा छन् ।
हालसम्म वार्ता समितिको बैठक देखाउनकै निम्ति एक/दुई पटक बसाइए पनि बैठकले कुनै निष्कर्ष निकाल्न सकेको देखिन्न । साथै, पछिल्लो समय बैठक समेत बस्न सकेका छैन । जसलाई दुवै पार्टीले आशंकाको रूपमा चित्रण गरेका छन् ।
यद्यपि, माओवादी केन्द्रको तर्फबाट एकताका लागि वार्ता समितिका सदस्यसमेत रहेका नेता गिरिराजमणि पोख्रेलले भने दुवै पार्टीका निष्कर्षबारे पार्टी बैठकबाट मात्रै धारणा बनाउने बताए । माओवादी केन्द्रले एकताको प्रक्रियालाई रुचि देखाएन भन्ने तथ्य सही नभएको उनको जिकिर छ ।
“हामी तत्काल तीन वटा दल र त्यसपछि अन्य वाम दललाई समेटेर जाने योजनामै छौँ, केही प्रक्रियागत हिसाबले लम्बिने विषय होलान्, यद्यपि हामी एकतालाई अगाडि बढाउँछौँ”, उनले भनेका छन्, “दुवै पार्टीका विषय बाहिर आएका छन्, यसमा हामीले औपचारिक छलफल गरेर निर्णय लिन्छौँ । समीक्षा गर्छौँ । वामपन्थी शक्तिहरू मिल्नुको विकल्प छैन ।”