काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन् ।
त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै भण्डारीले मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास, निर्माणमा लगानी बढाउँदै जानुपर्ने उल्लेख गरिन् । उनले विदेशी र स्वदेशी लगानीका क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने बताइन् ।
उनले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाई व्यावसायिक बनाउनुका स्थानीयस्तरमा उद्योग स्थापना गरी स्वदेशी माग पूरा गर्नुपर्नेमा जोड दिइन् । स्वदेशी उत्पादनको निर्यात बढाएर रोजगारी सिर्जना गरी दिगो विकास गर्दै नागरिकको आर्थिकस्तर उकास्न सकिने धारणा उनको थियो ।
विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको तर्क छ ।