‘क्रिस्मस डे’मा कन्सर्ट गर्दै सोनु निगम, ७० प्रतिशत टिकट बिक्री-Sutra News

‘क्रिस्मस डे’मा कन्सर्ट गर्दै सोनु निगम, ७० प्रतिशत टिकट बिक्री

बिहिबार, ४ पौस २०८१

बिहिबार, ४ पौस २०८१

काठमाडौं । भारतीय सांगितिक क्षेत्रका लोकप्रिय गायक सोनु निगम आगामी बुधबार नेपालमा आउँदैछन् । नेपाली सांगितिक प्रेमीहरुले निकै रुचाएका गायकले पहिलोपटक नेपालमा आएर सांगितीक प्रस्तुती दिन लागेका हुन् ।



यही पुस १० गते बुधवार अर्थात क्रिसमस डेको अवसर पारेर ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकको सांगीतिक कार्यक्रम आयोजना हुँदैछ । उक्त ‘कन्सर्ट’ लाई लिएर मानिसहरु पनि निकै उत्साहित देखिएका छन् ।

इसेवाबाट खुलाइएको टिकटमा कन्सर्ट हुनुभन्दा एक हप्ता पहिले नै ७० प्रतिशत टिकट बिक्री भइसकेको सोनु निगमको लाइफ कन्सर्ट आयोजना गर्न लागेको संस्था नेपाली टच अस्ट्रेलियाले जनाएको छ ।

यस संस्थाका संस्थापक तथा संगीतकर्मी राज के गोस्वामीले आफ्नो संस्थाले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने योजना अनुसार सोनु निगमलाई पहिलो पटक नेपालमा ल्याउन लागेकोको बताएका हुन् । उनका अनुसार सोनु निगमको कार्यक्रमका लागि संस्थाले तयारी पनि पुरा गरिसकेको छ ।

यो कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि करिव छ महिनादेखि कडा परिश्रम गरिरहेको गोस्वामीले बताए । गत असोजको तेस्रो सातादेखि नै टिकट बिक्री प्रारम्भ भएको यो कार्यक्रका लागि पुस ३ गते बुधवारसम्ममा करिव ७० प्रतिशत टिकट विक्री भैसकेको उनको भनाइ छ ।

बौद्धस्थित ह्यात होटलको खुला चौरमा चुस्त व्यवस्थापनका बीच उक्त कन्सर्ट आयोजना हुँदैछ । कार्यक्रमका लागि साँझ ४ बजेपछि दर्शकका लागि प्रवेश खुला गरिने छ । सञ्जय गुप्ताले सञ्चालन गर्ने उक्त कार्यक्रममा गायक सोनु निगमले लगातार तीन घण्टाभन्दा बढी अवधिमा आफ्ना दर्जनौं लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रममा उनले गाएको नेपाली गीत ‘उकाली ओराली गर्दै’ लगायतका गीत पनि गाउनेछन् ।

कन्सर्टका लागि सोनु निगम बुधवार मुम्बईबाट काठमाडौं आउनेछन् । उनको साथमा ३० जनाको सांगितिक टोली रहनेछन् । बुधवार राति १० बजेसम्म कन्सर्टमा प्रस्तुत भएर उनीहरुको समुह बिहीवार मुम्बई फर्किने छ । सोनु निगमको उक्त कन्सर्टमा १० हजार दर्शकको सहभागिता रहने अपेक्षा आयोजक कम्पनीले गरेको छ ।

कन्सर्टमा फुड स्टल तथा बेभरेज स्टल पनि राखिने छ । कार्यक्रमको सुरक्षाका लागि नेपाल प्रहरीबाहेक गरुड सेक्युरिटीजका तीन सय जना सुरक्षाकर्मीको टोलिले कार्यक्रमलाई सुरक्षा प्रदान गर्नेछ । यसबाहेक कार्यक्रमका लागि आयोजक संस्थाले जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसंग पनि समन्यवय गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट