काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । केही सातादेखि नै घट्न थालेको मूल्य पछिल्लो तीन दिनदेखि भने लगातार ओरालोमा छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले सस्तिएको छ । सुनको मूल्य घटेसँगै आज सुन प्रतितोला एक लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको मूल्य मंसिर २८ मा प्रतितोला १ लाख ५३ हजार रुपैयाँ थियो । मंसिर ३० मा आउँदा १ लाख ५० हजार ८ मा झरेको सुनको मूल्य त्यसयता पनि करिब ओरालोमा छ ।
पुस ३ गते १ लाख ५० हजार ७ सय रुपैयाँमा झरेको सुनको मूल्य पछिल्लो तीन कारोबार दिनमा थप २२ सय रुपैयाँले सस्तिएको महासंघले जनाएको छ ।
सुनको मूल्य घट्दै गर्दा स्थायनीय बजारमा चाँदीको मूल्य पनि निरन्तरजसो ओरालोमा छ । पछिल्लो तीन कारोबार दिनमा मात्रै चाँदीको मूल्य ७५ रुपैयाँले सस्तिएको छ । बिहीबारको तुलनामा मात्रै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले सस्तिएको महासंघले जनाएको छ ।
विशेषगरी अन्तराष्ट्रिय बजारमा मूल्यमा भइरहेको घटबढको प्रभाव स्थानीय बजारमा परिरहेको छ । जसको प्रभावस्वरुपमा निरन्तर मूल्य घटिरहेको छ ।
यद्यपि, निरन्तरजसो मूल्यमा उतारचढाव चल्दै गर्दा सुनचाँदीको खरिद–बिक्री भने प्रभावित भएको महासंघले जनाएको छ ।