काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सर्वोच्च अदालतले सरकारलाई ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फतउपमहासचिव शर्माले जनयुद्धलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिँडीमा सडाउन खोजिएको बताए ।
‘तिमी प्रतिबन्ध भएको सुनेँ, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चहान्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबलको कमी भएको महशुस गरेको छु’, उनले भनेका छन्, ‘तर युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौ।’
उनले अदालतको आदेशले लोकतन्त्रको उपहास गरेको बताएका छन् । ‘देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्प सहित नयाँ पुस्ताको चाहना अनुसार एआईमा सवार हुनेछौ। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौ’, उनले भनेका छन् ।
संघीय सरकार र मधेश सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधानविपरित रहेको भन्दै सर्वोच्चले सो शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।