काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले होला ? अहिलेसम्म मिति टुंगो लागेको छैन । यद्यपि, कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइराला भने महाधिवेशन केन्द्रित अभियानमा होमिएका छन् । सम्पर्क कार्यालय खोल्दै विभिन्न कार्यक्रम चलाएका कोइरालाले शुक्रवारदेखि क्रमबद्ध अभियान थालेका हुन् ।
कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाकै गृह प्रदेश सुदूरपश्चिमबाट अभियान सुरु गरेका छन् । सुदूरपश्चिमबाट सुरु अभियान देशव्यापीरूपमा चलाउने तयारी कोइरालाको छ ।
कोइराला निकट नेता गुरुराज घिमिरेका अनुसार धनगढीमा सुदूरपश्चिमका ९ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई जम्मा गरेर शुक्रवारदेखि अभियानको सुरुवात हुँदैछ । कोइराला सम्भव भएसम्म सुदूरपश्चिमका प्रत्येक जिल्लामा पुग्ने उनले बताए ।
“यो लुकाउन पर्ने विषय छैन, पार्टीभित्र महाधिवेशनको माहौल सुरु भइसकेको अवस्था छ, डा. शेखर कोइराला पनि सोही अभियानमा केन्द्रित हुँदै हुनुहुन्छ”, सूत्र न्यूजसँगको कुराकानीमा घिमिरेले भने, “अभियान सुदूरपश्चिमबाट सुरु हुँदैछ, त्यो क्रमशः अन्य प्रदेशहरूमा पनि हुन्छ ।”
घिमिरेका अनुसार सुदूरपश्चिमपछि लगत्तै कर्णाली र लुम्बिनीमा भेटघाट कार्यक्रम चल्नेछ । नेता तथा कार्यकर्तासँगको भेटघाटमा मात्रै केन्द्रित नभई अभियान कांग्रेस बनाउने कोणबाट चलाइने उनले बताए । यो अभियानले कांग्रेसभित्र समयमै महाधिवेशन हुने माहौल बन्ने उनको भनाई छ ।
अभियानमा कोइरालासँगै इतर समूहका अन्य नेताहरू पनि सहभागी छन् । सुदूरपश्चिमको कार्यक्रममा हृदयराम थानी, प्रा.डा. गोविन्दराज पोखरेलसहितका नेता सहभागी रहेको घिमिरेले बताए ।
तीन वर्षअघि २०७८ मंसिरमा १४औँ महाधिवेशन गरेको कांग्रेसले विधानतः आगामी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्नुपर्दछ । यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा नियमित महाधिवेशनको पक्षमा देखिएका छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता लेनदेनको सहमति गरेका देउवाले १५औँ महाधिवेशनलाई पर सार्न सक्ने त्रास इतर समूहमा छ ।
“विधानतः २०८२ मंसिरमा महाधिवेशन भइसक्नुपर्छ यद्यपि, पार्टीको आधिकारिक गतिविधि त्यतातर्फ देखिन्न”, घिमिरेले भने, “कुनै दबाबमूलक कार्यक्रम नगरी मिति घोषित हुने र नियमित प्रक्रिया अगाडि बढ्नेमा आशंका छ । हामी त्यतातर्फ केन्द्रित छौं ।”
दबाबमूलक अभियान सुरु गर्दै गर्दा समूह विभाजित
स्वयम् कोइराला अभियानमा जुट्दै गर्दा उनी नेतृत्वको इतर समूह भने विभाजित देखिएको छ । कोइरालाले एकपछि अर्को गरी कार्यक्रम बनाइरहँदा इतर समूहकै नेताहरू भने कार्यक्रममा सहभागी छैनन् । स्वयम् महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कोइरालाको अभियानमा समेटिएका छैनन् ।
महाधिवेशन माहौल सुरु हुँदै गर्दा थापा र शर्मा पार्टी सभापति देउवासँग नजिक देखिएका छन् । मंसिर २२ मा भएको कांग्रेसको कोसी प्रदेश विधान सम्मेलनमा कोइराला र थापा बाँडिएका थिए । कोइरालासहित उनी निकटस्थले सम्मेलन बहिस्कार गर्दा थापा सहभागी भएका थिए ।
जुन कार्यक्रमको मञ्चबाट थापाले कोइरालाको आलोचना गरेका थिए । उनले कोइरालाको शैली पार्टी एकता विरोधी भएको बताएका थिए ।
“पार्टीभित्र एकता अनिवार्य छ, सबैको राजनीतिक हिसाबले मिलाउनु पर्छ, अहिलेको सन्दर्भ ठिक भएन भन्ने लागेको हो, भोलिका दिनमा विराटनगरको एउटा वडाले सबै वडाध्यक्ष बोलाएर गर्छु भन्यो भने महानगरले के गर्छ ?”, कोइराला पक्षको बेग्लै भेला र सम्मेलनलाई गरेको बहिस्कारप्रति प्रश्न गर्दै उनले भने, “त्यो भेला गर्ने कि नगर्ने ? त्यस कारण सबै मिलेर सम्हालिएर अगाडि बढौँ ।”
कोइराला अहिले देशव्यापी अभियानमा निस्किँदा विशेषगरी महामन्त्रीद्वय सहभागी छैनन् । यद्यपि, नेता घिमिरेले भने दुवै महामन्त्रीलाई समेटेरै जाने दाबी गरे ।
“केही मतभिन्नता देखिए होलान्, त्यो मिल्छ, हामी मिलाउँछौँ”, उनले भनेका छन्, “छलफल हुँदैछ, भोलिका दिनमा फेरि सँगै हुने परिस्थिति हुन्छ, उहाँको पार्टीभित्रको जिम्मेवारीले पनि केही असहज भएको पक्कै हो ।”