काठमाडौं । सीमित शोसहित प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बम बहादुर’ले प्रदर्शनको पहिलो दिनमै हार खाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको सौगात मल्लको चलचित्रले सामान्य अपेक्षाअनुसार पनि दर्शकको साथ नपाएको हो । सीमित शोसहित रिलिज भएको चलचित्रले पाएको शोमा समेत दर्शक भेटेन ।
कम प्रचार प्रसार देखिएसँगै हलहरुले पनि ‘बम बहादुर’लाई शो कम दिएका थिए । शुक्रबार मल्टिप्लेक्स र सिंगल थियटर गरी चलचित्रले देशभर ५० को हाराहारी शो पाएको थियो । यद्यपि, अधिकांश हलमा चलचित्रले दर्शक पाएन ।
शुक्रबार दर्शकको उपस्थिति निकै न्यून नभएपछि शनिबार ‘बम बहादुर’लाई हलहरुले थप शो घटाएका छन् । यससँगै ‘बम बहादुर’को आगामी यात्रा कठिन हुने देखिएको छ ।
यदि शनिबार पाएको शोमा समेत दर्शक नपाए आगामी दिनमा चलचित्र चल्न कठिन हुने निश्चित छ । चलचित्र चल्नको लागि दर्शकको राम्रो प्रतिक्रिया (वर्ड अफ माउथ)को समेत आवश्यकता रहन्छ ।
यदि चलचित्र ‘बमब हादुर’ नचलेमा सौगातकै करिअरका निम्ति पनि अर्को ढुंगा महसुस हुनेछ । किनकी सौगात ‘बम बहादुर’मार्फत झण्डै ८ महिनापछि मात्रै दर्शकमाझ आएका हुन् । यसअघि चलचित्र ‘आचार्य’मा उनी केमियो रोलमा देखिएका थिए ।
उसो त अभिनेता सौगात अर्को चलचित्र ‘बलिदान’ को छायांकनमा व्यस्त छन् । ‘बलिदान’ को छायांकनको कारण उनले चलचित्रलाई समय दिन पाएका छैनन् ।
हलमा कात्तिकमा रिलिज ‘पूर्णबहादुरको सारंगी’ र मंसिर पहिलो साता रिलिज भएको चलचित्र ‘तेल भिसा’ अझै टिकिरहेको छ ।
सौगात मल्लको प्रमुख भूमिका रहेको छ चलचित्रमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दासलगायतको अभिनय रहेको छ। फिल्मको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन्। छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्।
दीपङ्कर सिंह मुखियाको संगीत र गीत रहेको यो फिल्मको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका छन्।
चलचित्रले विशेषगरी भारत, दार्जिलिङ र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपालीको ऐतिहासिक संघर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको निर्माण पक्षको दाबी छ । १९८० को दशक अर्थात् करिब ३८ वर्षअघि भएका घटनामा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायको संघर्षलाई सजीव रूपमा प्रस्तुत गरेको बताइएको छ ।