के कांग्रेस महामन्त्री गगन थापा गृहमन्त्री बन्न लागेका हुन् ?-Sutra News

के कांग्रेस महामन्त्री गगन थापा गृहमन्त्री बन्न लागेका हुन् ?

शुक्रबार, ५ पौस २०८१

शुक्रबार, ५ पौस २०८१

काठमाडौं । सतहमा मन्त्रिपरिषद् फेरबदलको चर्चा चलिरहेको छ । विशेषगरी कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका केही मन्त्रीलाई हटाउने र नयाँलाई अवसर दिने तयारीमा प्रधानमन्त्री जुटेको चर्चा छ ।



सँगै, सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)भित्रका असन्तुष्ट नेताहरुलाई पनि समेट्ने तयारी रहेको चर्चा चलिरहेको छ । प्रधानमन्त्री स्वयम् पनि सरकारका केही मन्त्रीको प्रर्फमेन्स आशातित नभएको बताइरहेका छन् ।

यसरी चर्चा चल्दै गर्दा, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको नाम सबैभन्दा बढी चर्चामा छ । उनलाई उपप्रधानसहित गृहमन्त्री बनाउन खोजिएको हल्ला राजनीतिक वृत्तमा सुनिन्छ ।

यद्यपि, थापाले भने बाहिर आएका हल्लालाई नकारेका छन् । उनले सरकारमा तत्काल कुनै फेरबदल हुने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू सरकारमा जाँदै गरेको भन्ने हल्ला व्यर्थको भएको बताए । यद्यपि, सरकारले आशा अनुसार डेलिभरी दिन नसकेको सन्दर्भमा भने छलफल भइरहेको बताए ।

‘सरकारमा कुनै खालको फेरबदल अहिले हुँदैन, सरकार राम्रोसँग चलिरहेको छ, सरकारका कमीकमजोरीका बारेमा प्रधानमन्त्री पक्कैपनि सचेत हुनुहुन्छ’, उनले भनेका छन्, ‘सरकार बनिसकेपछि जुन आशा अनुरुप डेलिभरी हुनुपर्ने हो त्यो भइरहेको छैन, त्यसको समीक्षा हुन्छ ।’

उनले सरकारको भविष्यलाई लिएर भइरहेका अड्कलबाजी व्यर्थको भएको समेत बताए । सरकारले पूर्णकार्यकाल काम गर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट