काठमाडौं । अहिले सतहमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मञ्च सेयर गरेको घटनाले चर्चा पाइरहेको छ । कीर्तिपुरमा एनपीएलको खेल हेर्न पुगेका देउवा र प्रचण्ड एउटै मञ्चमा सँगै देखिएका थिए । ५ महिनाअघि गठन भएको केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा तीव्र असहजता उत्पन्न हुन थालेको चर्चाका बिच देउवा र प्रचण्डले मञ्च सेयर गरेसँगै थप प्रश्न उठाएको हो ।
अहिले आमरुपमै ओली सरकार कहिलेसम्म टिक्ला ? भन्ने प्रश्न छ । प्रधानमन्त्री ओलीले समेत प्रत्येक सार्वजनिक भाषणमा सरकारको आयुबारे वक्तव्य दिइरहेका छन् ।
चीनको औपचारिक भ्रमणबाट फर्किँदा समेत ओलीको पहिलो अभिव्यक्ति नै सरकार ढल्दैन भन्ने थियो । “अब करिब–करिब १७–१८ महिना मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु, उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ, हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ”, त्रिभुवन विमानस्थलमा चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले भनेका थिए ।
जसलाई कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा र एमाले महासचिव शंकर पोखरेलका अभिव्यक्तिले पनि भरथेग गरिरहेका छन् । प्रत्येकका अभिव्यक्ति ‘सरकार ढल्दैन’ भन्ने मात्रै छ ।
यहीबिच भारतीय गुप्तचर एजेन्सी ‘रअ’का भूतपूर्व एजेन्ट लक्की विष्टको अभिव्यक्ति चर्चामा छ । उनले सार्वजनिकरुपमा ओली सरकारको आयु नै एक महिना भएको बताएका छन् । “तपाईँलाई अचम्म लाग्ला, तपाईँले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्ने वाला छ”, हालै नवभारत टाइम्ससँगको अन्तरवार्ताका क्रममा विष्टले भनेका छन् ।
अहिले एकातिर सत्ता साझेदार दुई दलबिचमै गतिलो समझदारीको अवस्था देखिन्न । कांग्रेसभित्र सरकारको कार्यशैलीलाई लिएर व्यापक असन्तुष्टि छ । इतर पक्षले खुलेर सरकारको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ ।
सुशासनमा पूरै चुकेको देखिएको सरकारले डेलिभरी दिने सन्दर्भमा पनि आफूलाई सक्रिय देखाउन नसकेको आरोप सत्ताभित्रबाटै छ । “सरकार बनिसकेपछि जुन आशा अनुरूप डेलिभरी हुनुपर्ने हो त्यो भइरहेको छैन तर, सरकारले गर्नुपर्ने डेलिभरी जसरी गर्नुपर्ने हो त्यसरी भइरहेको छैन भन्ने विषयमा प्रधानमन्त्री आफैँ सचेत रहनुपर्छ, जसरी सरकार कुद्नुपर्ने हो त्यसरी भइरहेको छ, सबैभन्दा पहिला त मलाई महसुस भएको छ”, हालै सरकारबारे कांग्रेस महामन्त्री थापाले भनेका छन् ।
सीमलताल दुर्घटनाको बिचमा बनेको सरकारले विपतमा जनतालाई कुनै राहत दिन सकेन । सँगै, भनिएका थुप्रै आश्वासनमा समेत सरकार चुक्न पुग्यो ।
अहिले मुख्यगरी अर्थतन्त्रलाई लयमा ल्याउने प्रश्न छ । यद्यपि सरकारभित्रकै नेताहरूको भनाइलाई हेर्दा, सरकार अर्थतन्त्रको सवालमा पूरै चुकेको छ । सेयर बजारको इन्डेक्समा रमाएको सरकारले अन्य इन्डेक्सलाई सुधार्न कुनै ठोस कार्यक्रम नै ल्याउन सकेन ।
आन्तरिक सन्दर्भमा पूर्ण असफल देखिएको सरकारले बाह्य सन्दर्भमा पनि आफूलाई बलियो गरी देखाउन सकेको पाइँदैन । विशेषगरी उत्तर र दक्षिणी देशसँगको सम्बन्धमा सरकार चुकेको छ । न त उत्तरतिर विश्वासको वातावरण बनाउन सकेको देखिन्छ न त दक्षिणतर्फ ।
ओलीको चीन भ्रमण खास उपलब्धिमूलक बन्न नसकेको चर्चाका बिच परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यर्थको भारत भ्रमणले प्रश्न उठाएको छ ।
सरकारसँग जोडिएका पछिल्ला शीर्ष अभिव्यक्ति र गतिविधिले सरकारको आयुमाथि गम्भीर प्रश्न उठाएको छ । ०७९ मंसिरको चुनावपछि मात्रै दुई पटक सत्ता नेतृत्वकर्ता र चार पटक सत्ता गठबन्धन परिवर्तन भएको छ । ६ महिनासमेत टिक्न मुस्किल देखिएको सत्ता गठबन्धनको राजनीति यसपटक सहमतिको बुँदामा टिकिरहला भन्ने आधार छैन । सतहमा देखिएका घटनाक्रमले सरकारको विकल्प बनाउने खेल सुरु भइसकेको संकेत गर्दछ ।