काठमाडौं । मधेशी आयोगले शनिबार जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्स बीच भएको अन्तिम खेल पश्चात जनकपुर बोल्ट्सका समर्थकहरु माथि सामुहिक रुपमा प्रहार गर्ने समुह लाई यथाशिघ्र पहिचान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
आयोगले प्रहरी प्रधान कार्यालयलाई एक पत्र पठाउदै जनकपुर बोल्ट्सका समर्थक माथि हातहतियार प्रयोग गरी घाइते बनाउने तथा सामाजिक संजाल मार्फत नश्लीय र रंगभेदी शब्द प्रयोग गर्ने अराजक तथा उदण्ड समुहको तुरन्त पहिचान गरी कानुनी दायरामा ल्याउन भनेको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता साम्प्रदायिक तथा सामाजिक सदभाव माथि खलल पुर्याउने घटनाले मधेशी समुदाय प्रति अन्य समुदायको दृष्टि कस्तो रहेको भन्ने कुरा उजागर गरेको बताएका छन ।
अध्यक्ष डा.दत्तले यस्ता घटना प्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभए सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकास माथि नकारात्मक असर समेत पर्ने बताएका छन् ।
आयोगका सदस्य जीवछ साह सहितको उच्चस्तरीय टोलीले घटनास्थल को स्थलगत निरीक्षण तथा घाइतेहरु संग घटनाको विस्तृत विवरण बुझी अगाडी आयोगले अगाडी अझ सशक्त निर्णय लिने अध्यक्ष डा.दत्तले जानकारी दिएका छन् ।