काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नै सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार १३.५३ अंकले घट्दै नेप्से २५८३.२९ को बिन्दुमा झरेको छ ।
दोहोरो अंकले नेप्सेमा गिरावट भएपनि आज ४ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीले बृद्धि भयो । सपोर्ट माइक्रो फाइनान्स, बाराही हाइड्रो, न्याग्दी हाइड्रो र सुपर मादीको मूल्य १० प्रतिशतले बढेको हो ।
आज लघुवित्त र उत्पादन तथा प्रशोधनबाहेकका समूहको सूचक घटेको छ । कारोबारमा आएका २४४ मध्ये १५३ को मूल्य घट्दा ८५ को मूल्य बढ्यो । ६ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
बजारमा भइरहेको उतारचढावको प्रभाव आज कारोबार रकममा पनि देखियो । ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँमै खुम्चियो ।
जुन केही सातायतै कम कारोबार रकम हो ।
गत साताको ५ कारोबार दिनमध्ये १ दिनबाहेक सबै दिन नेप्से घटेको थियो । अन्तिम कारोबार दिन ३१.४३ अंकले घटेको नेप्से यो साताको पहिलो कारोबार दिनमै दोहोरो अंकले घट्यो । यसले आमरुपमा लगानीकर्ता निराश भएको र करेक्सन मोड नसकिएको संकेत गरेको छ ।
आइतबारको कारोबारले नेप्सेमा थप गिरावटको संकेत गरेको छ । यद्यपि, लगानीकर्ता उतारचढावलाई सामान्यरुपमा बुझ्नुपर्ने बताउँछन् ।