काठमाडौं । लगातारको गिरावटपछि साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार परिसूचक (नेप्से)मा सुधार आएको छ । सोमबार २८.९१ अंकले बढ्दै नेप्से २६१२.२० को बिन्दुमा उक्लिएको छ ।
नेप्सेमा १३ कारोबार दिनदेखि नै गिरावट चलेको थियो । योबिचमा २८ सय बिन्दु नजिक पुगेको नेप्से पुनः २५ सयमा झरेको थियो ।
सोमबार सामूहिक लगानी बाहेक सबै समूहको सूचक बढ्यो । सँगै कारोबारमा आएका अधिकांशजसो कम्पनीको मूल्य बढ्यो । १९४ को मूल्य बढ्दा ४१ को मात्रै मूल्य घटेको छ । ९ कम्पनीको भने मूल्य स्थिर रहेको छ ।
सोमबार सपोर्ट माइक्रो फाइनान्स, सुपर मादी, बाराही हाइड्रो र बलेफी हाइड्रो मूल्य १० प्रतिशत हाराहारीले बढ्यो ।
सूचकले सकारात्मक संकेत गरिरहँदा सोमबार कारोबार रकम भने बढ्न सकेन । ८९ लाख ८ हजार ८५१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँमै सीमित भयो । जुन यसअघिका दिनको तुलनामा कम हो ।
यद्यपि, लामो करेक्सनका बिच नेप्सेमा अधिकांश कम्पनीको मूल्य सस्तिएका छन् । जसको कारण बेच्नेभन्दा क्रमशः किन्न खोज्ने हाबी हुन थालेका छन् । जसको प्रभाव क्रमशः बजार उकालिँदो देखिन थालेको छ ।
बजारले अहिलेकै शैलीलाई निरन्तरता दिएमा गिरावटको निरन्तरतालाई तोड्दै बजार पुरानै शैलीमा फर्किने सम्भावना बढी छ ।