म धोती !-Sutra News

म धोती !

सोमबार, ८ पौस २०८१

सोमबार, ८ पौस २०८१

“धोती हाम्रो विशिष्ट पहिरन हो, आभूषण हो । हामीलाई गर्व छ, हाम्रो धोतीमा । धोती हाम्रो आन, वान, शान र स्वाभिमान हो । तर, कसैले त्यहीँ धोती शब्दको प्रयोगबाट हाम्रो शानमा गुस्ताखी गर्छ भने त्यो स्वीकार्य छैन ।”



विभिन्न अवसर, आयोजनाहरूमा हाम्रो पहिरन, खानपान, भाषा, भूगोल आदिको आधारमा गिज्याउने काम राज्य स्तरबाटै हुने गर्छ । निश्चित वर्ग र समुदायबाट पनि बारम्बार हुने गर्छ । कहिले हामीलाई सडेको आँप भनिन्छ । कहिले धोती बिहारी, भैया । गालीगलौज कति–कति भनेर साध्य छैन । पेसा व्यवसायको आधारमा हाम्रो पहिचान गरिन्छ । पुराना पुस्ताले गरे ठिकै थियो, तर नयाँ भर्खरैका कलिला केटाकेटीहरू पनि त्यही घटिया बाटो र मानसिकता लिएर हिँडेको देख्दा, यो समाज कहिले नसुध्रिने हो कि जस्तो पनि लाग्छ । क्रिकेट मैदानमा देखिएका रङ्गभेद, नश्लभेद, क्षेत्रीय विभेद जस्ता कुराहरूले सेलाई सकेको पहिचानको मुद्दालाई फेरी युवाहरू माझ ब्युँताउने काम गरेको छ । लाग्दै छ, राज्यले हामीबाट उठाएको करबाट, यिनीहरूले कस्तो शिक्षा दिनु खर्च गरिँदैछ ? राम्रो शिक्षा र संस्कार पाएको भए यो लेखिरहनु पर्दैनन् थियो होला ।

नेपाली क्रिकेट जगत नै यस्तो क्षेत्र हो, जसले अधिकतम रूपमा सग्लो नेपाल समेट्न खोजेको प्रतीत हुन्छ । तर, रंग, जाति, समुदाय र क्षेत्रीय विभेदलाई बढवा दिने सर्किंण सोच पालेकाहरूले क्रिकेट जगतमा पनि विभेदको रंग घोल्न खोजे । र, केही हदसम्म सफल पनि भए । एनपीएल क्रिकेटमा आफ्नो टिमलाई समर्थन गर्ने नाउँमा खासगरी एउटा समुदाय र क्षेत्रलाई होच्याउने हर्कतहरू हाबी भएको पाइयो । नेपाली क्रिकेट यहाँसम्म आइपुग्नुमा तीनै होच्याइएको समुदाय र क्षेत्रको महत्वपूर्ण योगदान छ भन्ने जगजाहेर नै छ ।

विडम्बना, यो कुरा ती होच्याउनेहरूले राम्ररी बुझेनन् वा बुझ्न चाहेनन् ! खेल अमुक क्षेत्र वा समुदायको भएकै भरमा नभई खेल कौशलले जितिन्छ भन्ने कुरा होच्याउनेहरूले अन्तिम नतिजापछि पनि बुझ्न सकेनन् । एउटा नेपाली नागरिक भएर हेर्दा एनपीएलमा कसैले हारेको वा जितेका छैन । समर्थकहरू कोही तल वा कोहीमाथि परेका छैन । देशले जितेको छ, देश माथि परेको छ । हार र जितलाई सहजै पचाउन नसक्ने, अराजक, हिंस्रक दर्शकबाट न खेलको भलो हुन्छ । न त देश कै ।

क्यानले आयोजना गरेको नेपाल प्रिमियर लिग(एनपिएल) मा ८ टिम मध्ये एउटा टिम हो, जनकपुर बोल्टस् । क्रिकेटको क्रेज नेपाली खेल प्रेमीहरूमा पनि धेरै नै आकासिएको छ, जुन क्रिकेट र समग्र खेल जगतको लागि खुसीको खबर हो । खेलका माध्यमबाट चुँडिएका सम्बन्धहरू जोड्ने गरिन्छ । तर, विडम्बना एनपिएलको सुरुवातसँगै २०५७ साल पुस ११ गते (डिसेम्बर २६, २०००) को ऋतिक रोशन काण्डको झझल्को दियो । जुन प्रकारले जनकपुर बोल्टसलाई भन्दा पनि समग्र मधेसलाई संगठित रूपमा मैदान भित्र, बाहिर र सामाजिक सञ्जाल जसरी र जुन तवरले बुलिङ्ग गरियो, बाँकी टिमका समर्थकहरूद्वारा यदि जनकपुर बोल्टसका समर्थकले संयमता नअपनाएको भएको आज दोस्रो साम्प्रदायिक काण्ड हुन्थ्यो राजधानीमा, जसको तापमा पूरा देश जलिरहेको हुन्थ्यो ।

जसरी भारतीय अभिनेता ऋतिक रोशनले नेपाल र नेपालीहरूलाई मन नपराउने अभिव्यक्ति दिएको भन्ने हल्ला फैलियो । यद्यपि, यस्तो अभिव्यक्ति दिएको कुनै प्रमाण थिएन र ऋतिक रोशनले पनि यस्तो भनाइ अस्वीकार गरेका थिए । तर, यो अफवाहले नेपालमा ठुलो विरोध र हिंसात्मक घटनाहरू निम्त्यायो । काठमाडौंलगायतका सहरहरूमा प्रदर्शनकारीहरूले ऋतिक रोशनको पुत्ला जलाउने, भारतीय फिल्महरूको बहिष्कार गर्ने र विशेषगरी, मधेसी समुदायका व्यक्तिहरूलाई भारतीय नागरिक ठानी कुटपिट र दुर्व्यवहार गरियो । यस घटनाले मधेसी समुदायमा ठुलो त्रास र असुरक्षा महसुस गरायो । धेरै मधेसी अनुहार भएका नेपालीहरूलाई काठमाडौं छोड्न बाध्य बनायो । ‘ऋतिक रोशन काण्ड’ले नेपालमा जातीय र क्षेत्रीय विभाजनलाई उजागर गर्‍यो ।

एनपिएलको फाइनल खेलपछि मैदान बाहिर मधेसी अनुहारहरूलाई लक्षित गरी आक्रमण गरियो, ज्यानै मार्ने कोसिस भए । यस्तै, भएको थियो २०५७ साल पुस ११ गते काठमाडौंका सडकहरूमा । जहाँ मधेसी अनुहार भएका नेपालीहरूमाथि आक्रमणको डरले धेरैजसो मधेसीहरू काठमाडौं लगायत पहाडी क्षेत्रबाट आफ्नो गाउँतर्फ फर्कन बाध्य भए । उनीहरूले आफ्नो रोजगारी र व्यापार व्यवसाय गुमाउनु पर्‍यो ।

यतिसम्म गलत मानसिकता भएको मानिस समाजमा बसेपछि त्यो समाजको उत्थानको सपना देख्नु नै बेकार हो जस्तो लाग्छ । जनकपुर बोल्टसको ड्रेस लगाएकै भरमा उपत्यकाको सडकहरूमा, मैदानभित्र र बाहिर र सामाजिक सञ्जालमा जुन व्यवहार गरियो त्यो अशोभनीय, निन्दनीय अव्यवहारिक, कुकृत्य हो । क्रिकेट जगतकै सबैभन्दा रोचक, आवेशपूर्ण खेल भारत र पाकिस्तानबिच हुने गर्छ तर पनि उनीहरूका फ्यान यति तलसम्म झर्दैनन् । जति तल यो संस्करणमा बाँकी टिमका अराजक हिंस्रक फ्यानहरू जनकपुर बोल्टस् र मधेशप्रति झरे ।

समय फेरियो, पुस्ता फेरियो तर मधेश र मधेसीलाई हेर्ने नश्लभेदी आँखा अझै फेरिएका छैनन् । अलगावादको कुरा गर्दा देशद्रोही, पहिचान र स्वायत्तताको कुरा गर्दा अराष्ट्रिय, मौन बस्दा चरम विभेद र विनिपात । त्यसको प्रतिकार गर्दा कुटपिट र ज्यान जाने सम्मको डर । यो त्रासको गोलचक्करबाट मधेसी कहिले र कसरी मुक्ति पाउँछ ? यो भयक्रान्तले मधेसीलाई कहिले छोड्छ ? नश्लवादी शासकले सधैँ मधेसलाई टुक्रा–टुक्रामा पार्ने काम मात्र गर्दै आइरहेको छ । कहिले मधेसीबाट मुस्लिम छुट्ट्याउने त कहिले आदिवासी, जनजाति, दलितको नाममा त कहिले प्रदेशमा विभाजन गरेर । तर, नेपाल प्रिमियम लीगको दौरान जसरी मधेसको २२ वटै जिल्लाबाट जनकपुर बोल्टसलाई आफ्नो प्रतिनिधिको रूपमा समर्थन प्राप्त थियो, त्यो नशलवादी चिन्तनले ग्रसितहरूको गालामा दरिलो झापड थियो । जसको छाप यस्ता मानसिक रोगीहरूको गालामा कालान्तरसम्म रहिरहन्छ ।

स्वीकार्यता पाउनको लागि उसकै भाषा बोल्नुपर्ने, यो पनि सांस्कृतिक नरसंहारभित्रकै एउटा शस्त्र हो । यो परिभाषालाई एनपिएलको ताजा संस्करणले प्रमाणित गरेको छ । यो जित जनकपुर बोल्टसको मात्र होइन । वर्षौंदेखि राज्य र विशेष समुदायको दमन, अवहेलना, गिज्याएका, पाइलैपिच्छे विभेद भोगेका, प्रताडित ६१ लाखभन्दा बढी मधेसीको जित हो । आत्मसम्मान, स्वाभिमान र पहिचानको जितेको प्रतीक हो । मधेसको गौरव, मधेसको सम्भावना, मधेश र मधेसीको भविष्यको जित हो । एकैपल्ट यति जित प्राप्त गरेपछि, जसको नि आँखा लाग्छ । स्वाभाविक हो । आँखा लगाउन पाइन्छन्, तर स्वाभिमानमा र पहिचानमा चोट पुर्‍याउन पाइँदैन ।

देशकै मुटुमा यस्तो जघन्य अपराध हुदैँ गर्दा, प्रहरी प्रशासन, सुरक्षा संयन्त्र, कहाँ थियो ? जासुसी संयन्त्रमा वर्षेनी लाखौँ रुपैयाँ खर्च गर्ने, सुरक्षा निकायले यस्तो हुनसक्छ भनेर पूर्वअनुमान किन गरेनन् ? वा गरेर पनि बेवास्ता गरियो ? मर्ने त सडेका आँपहरू हो भनेर । यसले पनि मधेशप्रति राज्यको उदारता देखाउँछ । मधेश र मधेसीलाई हेर्ने काठमाडौंको दृष्टि अझै उहीँ २००७ जस्तै छ । दूध दिने गाई जस्तो । जबसम्म गाईले दूध दिन्छ, राम्रो हेरचाह पाउँछन्, जुन दिन दूध दिन बन्द गर्छ, त्यसै दिन सडकमा ल्याएर छोड्दिने प्रवृत्ति छ, राज्यको मधेसप्रति ।

जबसम्म देशको एउटा वर्ग, समुदायको मानसपटल नस्लवादी चिन्तनको कब्जामा हुन्छ, देश र जनताले सधैँ दुःख पाउँछन्, देशकै अर्को वर्गको जनताको बाँच्ने अधिकार खोसिन्छन् । आउने सन्ततिले यसको मूल्य चुकाउनु पर्छ । देशले गति लिनुको साटो अधोगति तिर लाग्छ । अपहेलित जनतामा चरम निराशाले आफ्नो स्वाभिमान, पहिचान रक्षाको लागि क्रान्तिको बाटो रोज्छ । जसले देश र जनताबिचको खाडल झन् फराकिलो हुँदै जान्छ र अन्तिममा सिंजामा आफ्नो जातीय वैभव, श्रेष्ठता र रजगज स्थापित गरेर बसेका सामन्तहरूलाई सिंजाको सम्राट क्राचल्लदेवले गरेको दास विमोचनको निर्णयले जसरी उनीहरूमा तरंगहरू सिर्जना गरेको थियो ।

राजगुरू आर्यदेवको घमन्ड, वर्ण व्यवस्था, जातीय श्रेष्ठता जस्ता कुराहरूले नै सिंजाका दासहरूको वेग्लै मोक्षभूमिको निर्माण भएको थियो । यस्तै, यता पनि नहोस् भन्नको लागि, यस्ता निकृष्ट नस्लवादी सोंचलाई समयमै तिलाञ्जलि दिएर कर्णालीमा बगाउनु पर्छ । यदि बगाएन भने यसले ठुलो अनिष्ट जन्माउँछ, जुन कसैको हितमा हुदैँन । महात गान्धीले भनेका थिए ’अपराध गर्ने भन्दा सहने अपराधी हुन् ।’ हामीले हाम्रो भाषा, छालाको रंग, परम्परा संस्कृति, पहिरन, खानपान, कर्म, व्यवसाय र भूगोल को आधारमा कहिले सम्म अपमान, अवहेलना, दुर्व्यवहार, सहेर आफ्नै देशमा अपराध नै नगरी अपराधी जस्तो बस्नुपर्ने ? पाइलैपिच्छे राष्ट्रियता, देशप्रेमको अग्नि परीक्षा दिनुपर्ने हो ? होइन भने जित होस् कि हार, खेल होस् कि राजनीति, वा होस् एकल जातीय राज्यसँग अधिकारको लडाइँ, सबैमा हामीले हाम्रो खुन नै बगाउनु पर्ने ?

हामी एकता, भाइचारा चाहान्छाैं, हाम्रो संस्कृति र संस्कारले पनि त्यहीँ नै सिकाउँछ हामीलाई । महाभारतमा शिशुपाल चेदि राज्यको राजा थिए, जो श्रीकृष्णका सम्बन्धी थिए । तर, उनी श्रीकृष्णको कट्टर विरोधी र ईर्ष्यालु व्यक्ति थिए । शिशुपालले बाल्यकालमा श्रीकृष्णबाट १०० भन्दा बढी अपराध माफी पाउने वाचा पाएका थिए । श्रीकृष्णले उनलाई बारम्बार क्षमा गरे पनि सभामा जब शिशुपालले भगवान् श्रीकृष्णलाई अत्यधिक अपमान गरे, जुन शिशुपालको १०१औँ गल्ती थियो,तब श्रीकृष्णले आफ्नो सुदर्शन चक्र प्रयोग गरेर शिशुपालको वध गरे । भगवान् होस् या मानव सबैको सहने एउटै निश्चित समय, सीमा र परिधि हुन्छ ।‌

हामी आफैँ अग्रसर भएर हिंसाको बाटो अँगाल्दैनौ । न त हामी हिंसा, विभेद, दमन जस्तो कार्यको समर्थन गर्छौँ । यो नस्लवादी चिन्तनको कति औँ गल्तीको हो, त्यसो हिसाब स्वयम् राज्य सञ्चालकहरूले लेखाजोखा गर्नु नै उपयुक्त हुन्छ किनभने हामी यदुवंशी श्रीकृष्णका र सूर्यवंशी श्रीरामका वंशज हौँ जसको आराध्य देव स्वयम् त्रिकालदर्शी महादेव हुनुहुन्छ ।‌ जसरी महादेवले सतिको वियोगमा र अस्तित्वको रक्षाको लागि जल, थल र वायुमा ताण्डव गरेर विध्वंस मच्चाएको थियो । हामी पनि हाम्रो पहिचान र अस्तित्व बचाउन पछि हट्दैनौँ ।

सबै मिली अगाडी बढौँ, आपसी सद्भाव कायम राखौँ । भएको ऊर्जालाई देश हित र समाजको कल्याणमा सिर्जनात्मक प्रयोग गरौँ । खेललाई मनोरञ्जनको भावनाले हेरौँ, बढी भावनात्मक भएर आपसी सद्भाव र सामाजिक सौहार्द नबिगारौँ । एक अर्काको सहअस्तिवलाई स्वीकार गरौँ । आखिर बस्नु यहीँ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट