काठमाडौं । वैदेशिक रोजगार विभागमा विद्युतीय गेट निर्माण गरिएको छ । बिचौलियाको बिगबिगी बढेपछि विभागले विद्युतीय गेट निर्माण गरेको हो ।
बिचौलियाहरूलाई कार्यालय प्रवेशमा कडाइ गर्न विद्युतीय गेट निर्माण गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।
बिचौलियाहरूले आफ्ना सवारी साधनहरू भित्रै राख्ने र त्यहीबाट सेवाग्राहीहरू अनेकन दुख दिने गरेका छन् । त्यसलाई रोक्न विभागले विभिन्न उपाय अवलम्बन गर्दै आएको छ । तरपनि ती उपायहरूले सार्थकता नपाएपछि विद्युतीय गेट निर्माण गरेको उनको भनाइ छ ।
विद्युतीय गेट निर्माणपछि एजेन्टहरूको पहिचान गर्न सहज हुने र उनीहरूलाई कार्यालय प्रवेशमा रोक लगाउन सकिने सुवेदीको भनाइ छ । यसअघि परिचयपत्र बाहेकलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो ।
‘अबदेखि भित्र प्रवेश गर्ने सबैको इन्ट्री गेटमै हुन्छ । गार्डलाई बस्नका लागि सानो घर बन्दैछ । त्यहीबाट सबैको इन्ट्री हुन्छ । कोही मान्छे लगातार ४/५ दिनसम्म आउन थाल्यो भने बिचौलिया हुन सक्छन्,’ निर्देशक सुवेदीले भने ।
एजेन्ट तथा बिचौलियाहरू प्रत्येक कर्मचारीको कुर्सीसम्मै पुगेर काममा प्रभाव पार्न थालेपछि विभागले कडाइ गरेको थियो ।