काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यालयले इसाई धर्मावलम्बीहरुले पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले इसाई धर्मावलम्वीहरुलाई क्रिसमस पर्व मनाउन यही पुस ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको गाउँपालिकाभरि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । उनले इसाई धर्मावलम्बीहरुले हरेक वर्षको डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।
यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका जनतामा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षासहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ्ग बनाउन सबैमा प्रेरणा प्रदान गरोस् अध्यक्ष मल्लद्वारा सोमबार जारी शुभकामना सन्देशमा भनिएको छ ।
अध्यक्ष मल्लले सार्वजनिक बिदा दिने निर्णय अनुसार मङ्गलबार र बुधबार दुई गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरु बन्द रहने बताए ।