काठमाडौं । सदनको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को गरी आन्तरिक र बाह्य समस्यामा पर्दा उच्च नेतृत्व नै कार्यवाहकको अभ्यासमा पुगेको छ । पार्टी सभापति पदसहित मुख्य मानिएका महामन्त्री र प्रवक्ता कार्यवाहकले चलाउने अवस्थामा पुगेको हो ।
पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियुक्त बनेपछि उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी लिएका छन् । पार्टी सभापति लामिछानेकै निर्देशनमा सोमबार बसेको रास्वपा सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णयलाई अनुमोदन गरेको थियो ।
यसअघि पनि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी लिइसकेका छन् । सभापति लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएसँगै रास्वपाले अर्याललाई २०७९ माघमा कार्यवाहकको जिम्मेवारी दिएको थियो । सँगै, उनले संसदीय दलको नेताको जिम्मेवारी पनि लिएका थिए ।
तत्कालीन समय लामिछानेले प्रयोग गरेको नागरिक बदर भएसँगै उनको सांसद र गृहमन्त्रीको पद गएको थियो ।
यस पटक पनि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद पनि निलम्बन भएको छ । कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध मुद्दा दायर गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएसँगै सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम पद स्वतः निलम्बनमा जान्छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा आरोपित लामिछानेलाई प्रहरीले कात्तिक २ मा पक्राउ गरेको थियो । त्यसयता लामिछाने हिरासतमै रहे पनि रास्वपाले कार्यवाहक नतोकी सामूहिक नेतृत्व अभ्यासलाई अगाडि बढाएको थियो ।
कार्यवाहककै काँधमा महामन्त्री र प्रवक्ता पद
पार्टी सभापतिको पद मात्रै होइन, रास्वपामा पार्टी महामन्त्री र प्रवक्ता पद पनि कार्यवाहककै काँधमा छ । तत्कालीन महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरेसँगै महामन्त्री र प्रवक्ता कार्यवाहकको भरमा चलेको छ ।
ढकाललाई गत असार २५ मा रास्वपाले पार्टी जिम्मेवारीबाट मुक्त गराएको थियो । ढकाल पदमुक्त भएसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले कार्यवाहक महामन्त्रीको जिम्मेवारी लिएका छन् भने सहायक प्रवक्ता मनिष झाले प्रवक्ताको जिम्मेवारी लिएका छन् ।
नेता तथा कार्यकर्ताको सुझाव समेट्ने भन्दै इलाम–२ को उपनिर्वाचनपछि ढकाल देश दौडाहामा निस्किएका थिए । विभिन्न ३२ जिल्ला डुलेर सुझाव प्रतिवेदन बनाएका ढकालले पार्टी नेतृत्व सच्चिनुपर्ने सुझाव दिएका थिए । विशेषगरी उनको प्रतिवेदनमा पार्टी सभापति लक्षित थियो ।
पार्टीभित्र छलफल नै नगरी प्रतिवेदन सार्वजनिक गरेपछि उनलाई रास्वपाले कारबाही गरेको थियो । त्यसयता दुवै पदमा कार्यवाहक तोकिएको हो ।
रास्वपाले आगामी २०८२ वैशाखमा पार्टी महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । गत असोज पहिलो साता भएको राष्ट्रिय भेलाले सो निर्णयलाई अनुमोदन गरेको थियो ।
यद्यपि, पार्टी सभापतिमाथि लागेको मुद्दासँगै रास्वपाका आन्तरिक गतिविधि प्रभावित भएका छन् । रास्वपाले तोकिएकै मितिमा महाधिवेशन गर्ने सम्भावना न्यून हुँदै गएको छ । जसको कारण रास्वपा थप केही समय कार्यवाहकबाटै सञ्चालन हुने देखिन्छ ।