आफूलाई बेवास्ता गरेपछि एसभित्र झलनाल असन्तुष्ट-Sutra News

आफूलाई बेवास्ता गरेपछि एसभित्र झलनाल असन्तुष्ट

मंगलबार, ९ पौस २०८१

मंगलबार, ९ पौस २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा नेताहरूको कार्य विभाजनलाई लिएर फेरि असन्तुष्टि सुरु भएको छ । सम्मानित नेता झलनाथ खनालबाटै कार्य विभाजनप्रति असन्तुष्टि व्यक्त भएको हो ।



एक स्थायी समिति सदस्यले बताएअनुसार खनालले आफ्ना सुझावलाई बेवास्ता गर्दै कार्य विभाजन गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले आफ्नो समूहका नेताहरूलाई बोलाएर असन्तुष्टि जाहेर गरेका हुन् ।

“पार्टी बैठक र कार्य विभाजनप्रति उहाँको असन्तुष्टि छ, आफ्ना सुझाव नसमेटिएको सन्दर्भमा पनि उहाँले असन्तुष्टि जनाउनुभएको छ”, खनालको असन्तुष्टिबारे ती सदस्यले भने ।

स्थायी समिति बैठकका बिच खनाल स्वास्थ्य समस्याका कारण अनुपस्थित थिए । उनले बैठकमा आफू अनुपस्थित भए पनि बेग्लै राजनीतिक प्रतिवेदन पठाएका थिए । करिब ८ पेजको राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी कार्यदिशा के हुने, पार्टीभित्रको सांगठनिक व्यवस्थापन कसरी गर्नेलगायत विषय समेटिएका थिए ।

यद्यपि, बैठकमा उनको प्रतिवेदनमाथि छलफल भएन । पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालको प्रतिवेदनमा केन्द्रित बनेको छलफलमा उनको प्रतिवेदनलाई सुझावको रूपमा ग्रहण गर्ने कुरा महासचिव भुसालले राखेका थिए ।

आफ्नो प्रतिवेदनलाई महत्व नदिएको र कार्य विभाजनमा आफूलाई नसोधिएपछि उनले असन्तुष्टि जनाएका हुन् । ती स्थायी समिति सदस्यले बताएअनुसार विशेषगरी उनको असन्तुष्टि आफूलाई बेवास्ता गरिएकोमा छ ।

“नेतृत्वको हिसाबले पार्टीभित्र खनालको महत्व विशेष छ, यस्तोमा उहाँलाई सोध्ने, उहाँको परामर्श लिने विषय आवश्यक थियो, त्यो नहुनुप्रति असन्तुष्टि स्वाभाविक हो”, ती सदस्यले भने, “उहाँका कुरा समेटेर जानुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट