काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै वामदेव गौतमको राजनीति पनि यता न उताको भयो । विभाजनसँगै न उनी एमालेतर्फ गए न त माओवादीतर्फ ।
नेकपा विभाजनपछि गौतमले तेस्रो धारको रूपमा फेरि नेकपा ब्युँताउने भन्दै ‘नेकपा एकता राष्ट्रिय अभियान’को सुरुवात गरेका थिए । उनले २०७७ पुस २५ मा अभियानको घोषणा गरेका थिए ।
एमाले र माओवादी त पूर्ववत् रूपमा फर्कियो तर, गौतमको अभियानले भने पूर्णता पाउन सकेन । गौतमले नेकपा एकता अभियानमा विशेषगरी एमालेभित्रको असन्तुष्ट समूहलाई समेटेका थिए । तर, नेकपा (एकीकृत समाजवादी)को गठनसँगै त्यो कित्ता पनि कमजोर बन्यो ।
एसको गठनसँगै क्रमशः गौतम नेतृत्वको अभियान पनि विघटित हुँदै गएको थियो । एमाले पूर्ववत् अवस्थामा फर्किएको करिब ७ महिनामा एस गठन भएको थियो ।
एमालेलाई नै मूलधार देखेका गौतम त्योबिचमा एमालेतर्फ नै फर्किने कसरतमा थिए । यद्यपि, त्यो कसरतले पूर्णता पाएन । ब्युँतिएको एमाले नेतृत्वले उनलाई खास वास्ता गरेन ।
नेकपा विभाजनपछि नेकपा एकता अभियान चलाएका गौतमले २०७८ भदौमा मात्रै ब्युँतिएको एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले तत्कालीन समय थप भूमिका खोजेका थिए तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमको चाहनाप्रति चासो दिएनन् ।
गौतमले फेरि २०८० असार ३ मा पनि एमालेमा फर्किने वातावरण मिलाइदिन भन्दै औपचारिकरुपमै च्यासल पुगेर ओलीलाई आग्रह गरेका थिए । उनले आफूसहित आफू निकटस्थलाई उचित भूमिका दिन आग्रह गरेका थिए ।
यद्यपि, गौतमको पटके आग्रह एमालेभित्रबाट सुनिएन । ओलीले सुनेनन् । त्यसयता गौतम मौन शैलीमा थिए ।
नेकपा विभाजनको झण्डै ४ वर्षसम्म अलपत्र गौतम एकीकृत समाजवादीको छहारीमा फर्किने प्रर्यत्न जुटेका छन् । एकीकृत समाजवादीमा फर्किन गौतमले औपचारिकरुपमै छलफल प्रारम्भ गरेका छन् ।
गौतमले ३ सदस्यीय वार्ता समिति नै बनाएर एस प्रवेशको तयारी थालेका छन् । गौतम समूहको तर्फबाट एसमा फर्किन डी. बी. कार्कीको नेतृत्वमा ३ सदस्यीय वार्ता समिति बनाइएको छ । जसमा भगवती विष्ट र लोकनाथ धमला सदस्यको रूपमा छन् ।
गौतम निकटस्थले बताएअनुसार वार्ता समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने छ ।
एकीकृत समाजवादीले पनि स्थायी समिति बैठकबाट गौतमलाई तेस्रो वरियतासहित भित्र्याउने निर्णय गरेको छ । सँगै एसले अन्य विषय टुंग्याउन पार्टी अध्यक्ष माधवकुमार नेपाललाई जिम्मेवारी दिएको छ ।
“उहाँलाई सम्मानजनकरुपमा तेस्रो वरियतासहित स्वागत गर्ने निर्णय गरिसकेको छ, अहिलेसम्म ढिलाइ गरिएको विषयमा पनि नेताहरूको आलोचना भएको छ”, स्थायी समिति बैठकको निर्णयबारे स्थायी समिति सदस्य साध्यबहादुर भण्डारीले भने, “अब अध्यक्षले नै के गर्ने निर्णय गर्नुहुन्छ । बैठकले सबै जिम्मेवारी अध्यक्षलाई दिएको छ ।”
भण्डारीका अनुसार अब क्रमशः पार्टी प्रवेश गराउने प्रक्रिया सुरु हुनेछ । गौतमले राखेका एजेन्डामा पनि सहमति खोजिनेछ । उनका अनुसार एक/दुई महिनाभित्रै सो प्रक्रिया पूरा हुनेछ ।
यद्यपि, एकीकृत समाजवादी आफैं लामो समयदेखि आन्तरिक विवादले जकडिएको अवस्थामा छ । महाधिवेशन भएको ५ महिनापछि नेताहरूको कार्यविभाजन टुंग्याएको भए पनि असन्तुष्टि साम्य भइसकेको छैन ।
सम्मानित नेता झलनाथ खनालले कार्यविभाजनप्रति खुलारुपले नै असन्तुष्टि जनाएका छन् ।
यस्तोमा गौतमले संगठनात्मकरुपले सानो र आन्तरिक विवादले जकडिएको एसलाई किन रोजे ? एसभित्र गौतमको आगमन कस्तो रहला ? आमरुपमा प्रश्न छ ।
गौतमसँग लामो संगत गरेका वामपन्थी नेता लोककृष्ण भट्टराई गौतमका निर्णय अस्थिरताका परिचायक भएको बताउँछन् । गौतमले सही निर्णय नलिएको भट्टराईको बुझाई छ ।
“उमेरले ८० आसपासमा पुगेका गौतम, वामआन्दोलनको छहारी बन्नुपथ्र्यो, उहाँले चलाएको नेकपा अभियान नै वामपन्थीलाई समेट्ने भावमा थियो”, भट्टराई भन्छन्, “एसभित्र प्रवेश गर्ने निर्णय थप अस्थिरताको परिचायक हो । एमालेले भाग नदिएपछि दिएको जवाफभन्दा केही होइन ।”