काठमाडौं । सभामुख देवराज घिमिरेले वर्तमान सरकार सदनदेखि तर्किएर हिँड्न थालेको गुनासो गरेका छन् ।
बुधबार नगरकोटमा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ कार्यक्रमका क्रममा पत्रकारहरूलाई सम्बोधनका क्रममा सभामुख घिमिरेले यस्तो गुनासो गरेका हुन् ।
सञ्चारकर्मीका लागि नगरकोटमा आयोजित आवासीय कार्यक्रमलाई सम्बोधन गर्न सभामुख घिमिरे बुधबार नै काठमाडौंबाट पुगेका थिए । उपसभामुख र सञ्चारकर्मीहरू भने मंगलबारदेखि नै नगरकोटमा थिए ।
बुधबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले सरकार संसद्सँग तर्किरहेको बताउँदै त्यसरी तर्किएर हिँड्न नहुने उल्लेख गरे ।
घिमिरेले संसद्प्रति सरकार पूर्णरुपमा जवाफदेही हुनुपर्ने पनि जिकिर गरे । संसद्लाई सरकार जन्माउने आमाका रुपमा चित्रित गरेका उनले सरकार आमाबाट टाढा हुन नहुने बताए ।