काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको जस्तासुकै अभिव्यक्ति पनि जो कोहि को लागि भारी पर्ने गरेको छ । अर्थात ओलीविरुद्ध बोल्यो कि पोल्योको अवस्था एमालेभित्र रहेको प्रष्ट देखिएको छ ।
आफूविरुद्ध जो कोहिले पनि दिने सामान्य भन्दा सामान्य खालका अभिव्यक्तिलाई पनि गम्भिरताका साथ लिने ओलीले त्यसको तुस् आफ्नै नेता कार्यकर्तामा देखाउँदै आएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको १० औँ महाधिवेशनमा आफूविरुद्ध अध्यक्षको उम्मेदवारी दिएका भीम रावललाई बुधबार बसेको पार्टी सचिवालय बैठकबाट संगठित सदस्यबाट निष्कासित गरेका छन् ।
अध्यक्षको उम्मेदवारी दिएका रावललाई ओलीले आफूविरुद्ध पौठेजोरी खेलेको भन्दै पार्टीका गतिविधिहरुबाट टाडा राख्दै आएका थिए ।
एमालेले सो निर्णय गरेसँगै रावलले आफू विचलित नहुने बताएका छन्। ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ,’ उनले भने। ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको समेत उनले टिप्पणी गरेका छन्।
‘केपी ओली राष्ट्र, राष्ट्रियता, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन्,’ उनले भने। उनले अगाडि थपे, ‘विगतका कम्युनिष्ट पार्टीले प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्दै पदका लागि जोसँग पनि सम्झौता गरिरेहका छन्।’
त्यस्तै पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर ओलीले दुई नेतृलाई निलम्बित गरिदिएका छन् । एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
६ महिना निलम्बनमा परेकी नेतृ डा. विन्दा पाण्डेले आफूले नगरेको गल्तीको सजाय दिने काम भएको बताएकी छन् । व्यापारीबाट दानमा केन्द्रीय कार्यालय लिने निर्णयलाई गलत भन्ने आफ्नो अभिव्यक्ति सच्याउन आवश्यक नरहेको उनको तर्क छ ।
‘नागरिकको बीचमा ठाडो शीर गरेर ‘म नेकपा एमालेको सदस्यले मेरो पार्टी कार्यालय मै बनाउँछु’ भन्ने निर्णय पार्टीले गरेको थियो । त्यही आधारले अगाडि बढ्नुपर्छ भनेर कुरा उठाएको हो’, पाण्डेले भनिन्, ‘त्यसले गर्दा गल्ती गरेका थिएनौं त, रियलाइजेसन गर्ने कुरै भएन नि ।’
त्यस्तै ६ महिनासम्मका लागि जिम्मेवारी खोसेपछि तिमल्सेनाले पार्टीले गर्ने गलत कामको आवाज उठाउन नछोड्ने बताएकी छन् । पार्टीको निर्णय माने पनि जनचासोको विषय उठाइरहने उनको भनाइ छ ।
‘हामीजस्तो इमान्दार कार्यकर्ताको कत्लेआममा पार्टी अझै माथि जाओस्,’ तिमल्सेनाले भनिन्, ‘नेकपा एमालेले हामीमाथि गरेको कारवाही सबै ज्ञान चेतनालाई बन्धकी राखेर गरिएको निर्णय हो यो।’
पाण्डे र तिमल्सेनाले पार्टी कार्यालय बनाउन कसैको दान नलिगी एमाले आफैले पनि बनाउन सक्ने खालको अभिव्यक्ति दिएका थिए । सोहि अभिव्यक्तिका कारण अध्यक्ष ओलीले तत्काल नै स्पष्टिकरणको माग गर्दै बुधबार चित्तबुझ्दो जवाफ नआएको भन्दै ६ महिनालाई निलम्बनै गरिदिए ।
ओलीको यस प्रकारको निर्णय र हर्कदलाई एमालेकै कतिपय नेताहरुले अराजकताको संज्ञा दिएका छन् ।