काठमाडौं । मंसिर अन्तिम साता भएको नेकपा (एमाले)को राष्ट्रिय कार्यशालालाई सम्बोधनका क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफू नै नेतृत्व र आफू रहुन्जेल विकल्प नखोज्न’ सन्देश दिएका थिए । विशेषगरी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा भित्र्याउने चर्चाका बिच ओलीले नेता तथा कार्यकर्तालाई यस्तो भनेका थिए ।
उनले एमालेभित्र गुटबन्दी पनि स्वीकार्य नहुने सन्देश पनि उक्त सम्बोधनका क्रममा दिएका थिए । नेता तथा कार्यकर्तालाई ओलीको यो सम्बोधन काशन शैलीमा थियो । ओलीले विगतमा पनि आफूलाई चुनौती दिने प्रयास नगर्नु भन्ने शैलीमा सम्बोधन गर्ने गरेका छन् ।
२०८० को चैतमा कास्की पुगेका ओलीले आफू अझै २० वर्षसम्म नेतृत्व रहने सन्देश दिएका थिए । उनले आफू ९० वर्षसम्म नै सक्रिय नेतृत्व लिन सक्ने संकेत गरेका थिए ।
“कतिलाई ओली नभइदिएको भए यसो उसो गर्न सकिन्थ्यो भन्ने लागेको होला, तर मेरो कपाल पलाउन थालेको छ, जुँगा पनि काला हुँदै गएका छन्, त्यसैले २० वर्ष अरूले आश नगरे हुन्छ”, ओलीले उक्त सम्बोधनका क्रममा भनेका थिए ।
विशेषगरी ओलीको अभिव्यक्तिहरूले पार्टीभित्र नेतृत्वमा उनको विकल्प खोज्न हुँदैन र अन्यत्र पनि उनलाई चुनौती दिने गरी प्रस्तुत हुनु हुँदैन भन्ने स्पष्ट देखाउँछ । ओलीले बुधवारको सचिवालय बैठकमार्फत जे–जसरी नेताहरूमाथि कारबाहीको डन्डा चलाएका छन्, यसले पनि उनी थप आफ्नो शैलीमा स्पष्ट भएको बुझिन्छ ।
ओलीले बुधवार सचिवालय बैठक बसाल्दै अधिकांश सदस्यको विमतिकै बाबजुद पूर्व पार्टी उपाध्यक्ष भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए भने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीमुक्त गराएका थिए ।
रावलले २०७८ मा भएको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उठ्दै ओलीलाई चुनौती दिएका थिए भने अन्य सन्दर्भमा पनि उनले नेतृत्वको आलोचना गर्दै आएका छन् ।
पाण्डे र तिम्सिनाले भने विवादित व्यापारी मीनबहादुर गुरुङसँगको जग्गा लेनदेनको विरोध गरेका थिए । जुन विरोधकै कारण कारबाहीमा परे ।
ओलीले जे–जस्तो शैलीमा अभिव्यक्ति दिएका छन् र नेतृत्व बसेर जे–जसरी काशन गरेका छन्, यसले एमालेमा स्टालिनवादको प्रयोग हुन थालेको एक केन्द्रीय बताउँछन् । ओलीको अभ्याससँगै एमालेभित्रको आन्तरिक लोकतन्त्र सकिएको उनको टिप्पणी छ । सँगै, ओली शैलीले आलोचनात्मक चेत राख्ने पनि क्रमशः किनारा राख्ने अवस्था बनेको छ ।