बाघको संख्या घटाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड-Sutra News

बाघको संख्या घटाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड

बिहिबार, ११ पौस २०८१

बिहिबार, ११ पौस २०८१

काठमाडौं । नेपालमा रहँदै आएको बाघको संख्या घटाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । उनले मान्छे खुवाएर बाघ संरक्षण गर्न नसकिने समेत बताएका छन् ।



बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप-२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने धारणा राखेका हुन्।

उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले ३ सयभन्दा बढी बाघ रहेको जानकारी पनि दिए। अरूले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने ओलीले स्पष्ट पारे।

उनले भने, ‘हामी सन् २००९ मा कोपनेगेन कि कहाँ थियो बाघ सम्मेलन, त्यहाँ गयौँ। हामीसँग बाघ थिए ११० वटा कि कति डबल गर्ने भनेर हामीले १० वर्षमा डबल गर्ने भन्यौँ। ०१९/०२० तिर पुग्दा डबल बाघ चाहिन्थ्यो, २०१८ मा हामीसँग अढाइ सयभन्दा बढी बाघ भइसके। अहिले साढे ३ सयभन्दा बढी बाघ छन्। जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ। हामीले पनि चाहिने खालका काम गर्नुपर्छ। बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ। डेढ सय बाघ भए पुग्छ।’

बाघ पाल्ने भए नेपालले मित्र राष्ट्रहरूलाई उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने उनको भनाइ थियो। आफूले बेहोरिरहेको क्षतिको जानकारी दिँदै मानवीय क्षति बेहोरेर बाघ संरक्षण गर्न नसकिने कुरा अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालले स्पष्टसँग राख्नुपर्ने उनको धारणा थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट