कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत-Sutra News

कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत

बिहिबार, ११ पौस २०८१

बिहिबार, ११ पौस २०८१

काठमाडौं । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । बिहीवार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले समान धारणा राखेका हुन् ।



विधेयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा बोल्ल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीहरुलाई दलगत ट्रेड युनियन खोल्न दिन नहुने बताए । उनले कानूनमा समेत सरकारी संस्थामा आवद्ध व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरेको बताए ।

उनले कर्मचारीहरुको एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने बताए। निजामती कर्मचारीका लागि एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने र अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीले त्यसको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको ट्रेड युनियनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । उनले कर्मचारीमा पेसागत प्रबर्द्धन हितसँग जोडिएका कुराहरुमा हामीले बन्देज लगाउन उपयुक्त नभए पनि ट्रेड युनियनहरु राजनीतिक क्रियाकलापमा संलग्न हुने गरेको बताए ।

उनले कर्मचारीका लागि एक मात्र ट्रेड युनियन राख्नुपर्ने बताए। राज्यको नीतिगत निर्णयमा सहभागी हुने कर्मचारीले कुनै पनि ट्रेड युनियनको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।

दुवै राजनीतिक दलहरुले कर्मचारीको एउटै ट्रेड युनियन बनाउनुपर्ने र उक्त युनियनमा नीतिगत निर्णयमा सहभागी हुने कर्मचारी आवद्ध हुन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट