रास्वपामा किचलो : कार्यवाहक सभापतिपछि कार्यवाहक संसदीय दलको नेता को ?-Sutra News

रास्वपामा किचलो : कार्यवाहक सभापतिपछि कार्यवाहक संसदीय दलको नेता को ?

‘टीका प्रथा’ स्वीकार गरिन्न भन्दै सहमहामन्त्री सुमना श्रेष्ठको केन्द्रीय सदस्यहरूलाई म्यासेज

शुक्रबार, १२ पौस २०८१

शुक्रबार, १२ पौस २०८१

काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अभियुक्त बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहकको जिम्मेवारी पार्टी उपसभापति डोलप्रसाद अर्याललाई दियो । सोमबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै रास्वपाले सचिवालय बैठक बसी अर्याललाई कार्यवाहक तोक्ने निर्णय गरेको थियो ।



लामिछाने पार्टी सभापतिसँगै पार्टी संसदीय दलको नेताको जिम्मेवारीमा पनि थिए । मुद्दा दर्ता भएसँगै उनी सांसद पदबाट पनि निलम्बित भएका छन् । जससँगै रास्वपाको संसदीय दलको नेता रिक्त छ ।

रास्वपाले पार्टी उपसभापतिलाई कार्यवाहकको जिम्मेवारी दिँदै गर्दा संसदीय दलको कार्यवाहक नेता को भन्ने प्रश्न यति रास्वपामा उठेको छ । अर्यालले पार्टीमा कार्यवाहक सभापतिको जिम्मेवारी पाए पनि संसदीय दलको नेतामा अन्यले पनि दाबी गरेका छन् ।

संसदीय दलको कार्यवाहक सभापति अर्यालसहित उपसभापति स्वर्णिम वाग्ले, उपनेता विराजभक्त श्रेष्ठ, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीलगायतले दाबी गरेका छन् ।

अर्यालले पार्टीमा पनि कार्यवाहक सभापति आफू रहेकाले संसदीय दलको कार्यवाहक पनि आफूले पाउनुपर्ने दाबी गरेका छन् । तर, उनको स्वाभाविक दाबीप्रति अन्यले विरोध जनाएका छन् ।

विशेषगरी लामिछानेले हिरासतबाटै अर्याललाई टीका लगाएर कार्यवाहक सभापति बनाएको भन्दै रास्वपाभित्र असन्तुष्टि छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दलको नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् । उनले घुमाउरो शैलीमा लामिछानेको ‘टीका प्रथा’को विरोध गरेकी छिन् ।

‘टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो,  म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाइ गर्छु’, श्रेष्ठले केन्द्रीय सदस्यहरूको मेसेन्जर ग्रुपमा लेखेकी छिन् ।

उपनेता विराजभक्तले आफू स्वतः संसदीय दलको उत्तराधिकारी भएको धारणा नेताहरूका बिच राखेका छन् । उनले नेता नभएको अवस्थामा उपले स्वतः कार्यवाहक नेताको जिम्मेवारी पाउनुपर्ने धारणा पार्टीभित्र राखेका छन् ।

उपसभापति वाग्ले पार्टीको कार्यवाहक सभापति बन्ने आसमा थिए । तर, लामिछानेले नै तय गरेपछि उनी असन्तुष्ट छन् । उनले संसदीय दलको नेता आफूले पाउनुपर्ने भन्दै नेताहरूसँग छलफल बढाएको रास्वपाका एक नेता बताउँछन् ।

अहिले रास्वपाभित्र प्रत्यक्ष निर्वाचन र सिरियर मध्येबाट एकले कार्यवाहक नेताले जिम्मेवारी पाउनुपर्ने आवाज बलियो छ । यद्यपि, आकांक्षी धेरै हुँदा विवाद बढ्ने सम्भावना देखिएको छ ।

रास्वपाले शुक्रवार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाएको छ । यद्यपि, आकांक्षी बढी भएको कारण सहजै चयन हुनेमा दुबिधा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट