नन्दकिशोर भित्र्याउने खेलमा प्रचण्ड लाग्दा विप्लवसँग नजिकिँदै जनार्दन-Sutra News

नन्दकिशोर भित्र्याउने खेलमा प्रचण्ड लाग्दा विप्लवसँग नजिकिँदै जनार्दन

शुक्रबार, १२ पौस २०८१

शुक्रबार, १२ पौस २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्रको अन्तरसंघर्ष अनौठो मोडमा पुगेको छ । चरम उपयोगितावाद र निषेधको राजनीति हाबी बनेको माओवादीमा नयाँ–नयाँ दृश्य देखिन थालेका छन् । जसमा पार्टी छाडेको १२ वर्षपछि नेत्रविक्रम चन्द ‘विप्लव’ पनि मिसिने अवस्था बनेको छ ।



विगतमा पार्टीभित्र अप्ठ्यारो पर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई भित्र्याउने कसरत सुरु गरेका थिए । उनले समाजवादी मोर्चामा आबद्ध गराउँदै पार्टी भित्र्याउने तयारी थालेका थिए । २०८० असारमा समाजवादी मोर्चामा ल्याएसँगै प्रचण्डले आन्तरिकरूपमा पार्टी महासचिव बनाउँदै विप्लवलाई भित्र्याउने तयारी बढाएका थिए ।

प्रचण्डले विप्लवलाई महासचिव बनाएर भित्र्याउन लागेको विषय सांकेतिकरूपमा समाजवादी मोर्चा गठनसँगै सार्वजनिक गरेका थिए । यद्यपि, प्रचण्डको त्यो योजनामा माओवादीका उपमहासचिवत्रय जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेत बाधक बने । प्रचण्डको योजना सार्वजनिक भएसँगै तीन नेताहरू छलफलमा जुटेर मोर्चा बन्दी गरेका थिए ।

विशेषगरी आफूहरूलाई साइजमा राख्न प्रचण्डले विप्लवलाई अगाडि सारेको निष्कर्षमा तीन नेता पुगेका थिए । तीन नेताले मोर्चा बन्दी गरेसँगै विप्लव भित्र्याउने प्रचण्ड योजना असफल बन्यो ।

तर, प्रचण्डले कसरत भने गरिरहेका थिए । प्रचण्डकै योजनामा विप्लवलाई २०८० फागुनमा समाजवादी मोर्चाको संयोजक बनाइएको थियो ।

यद्यपि, आन्तरिक र बाह्य राजनीतिक परिस्थितिमा आएको फेरबदलसँगै प्रचण्ड, विप्लवलाई भित्र्याउने योजनाबाट फेरि पछि हटे । सत्ताबाट पाखा पन्छिएसँगै केही समय पार्टी एकताको अलाप जपेका प्रचण्डले पछिल्लो समय विप्लवको विकल्पमा नन्दकिशोर पुनलगायतलाई भित्र्याउने तयारी थालेका छन् ।

घटनाक्रमकै बिच विगतमा अवरोधक बनेका जनार्दन शर्मा अहिले विप्लवसँग नजिक बन्दै छन् भने प्रचण्ड टाढिएका छन् ।

पार्टीभित्र लिखितरूपमै प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न दबाब बढाउँदै लगेका जनार्दन सहयोगीको खोजीमा छन् । जसमा उनले विप्लवलाई सारथीको रूपमा उपयोग गर्न खोजेको देखिन्छ । जनार्दनले २०८१ साउन २७ मा लिखितरूपमै प्रचण्डलाई नेतृत्वबाट बाहिरिन प्रस्ताव राखेका थिए ।

पार्टीभित्र प्रचण्डविरुद्ध अभियान चलाएका जनार्दनले बाहिर विप्लवलगायतसँग भेटघाट सुरु गरे । दशैंको माहोलका बिच असोज २९मा विप्लवलाई उनकै निवास शिवराज, कपिलवस्तु पुगेर जनार्दनले भेटेका थिए । प्रचण्डसँग टाढिएका विप्लवसँग जनार्दनले गहिरो संवाद गरे । त्यसयता दुईबिच संवाद चलिरहेको पाइन्छ ।

यतिबेला विप्लवले प्रचण्ड एकता विरोधी रहेको निष्कर्ष सार्वजनिकरुपमा सुनाएका छन् । उनले पार्टी बैठक नै राखेर पुस २ मा प्रचण्डकै कारण एकता भाँडिएको निष्कर्ष सुनाएका थिए ।

प्रचण्डविरूद्ध सार्वजनिकरूपमा निष्कर्ष सुनाएका विप्लवले जनार्दनसँग भने सार्वजनिकरूपमै एकताको कुरा गरिरहेका छन् ।

‘माओ दिवस’को अवसरमा पुस ११ मा एउटै मञ्च सेयर गर्दै जनार्दन र विप्लवले एक हुने कुरा सुनाए । सार्वजनिक मञ्चबाट दुवैले विगतको समीक्षा सुनाउँदै माओवादी धारालाई एक बनाउने अठोट गरे ।

उक्त अवसरमा जनयुद्धदेखि सहकार्य र एउटै थालमा भात खाएको सम्झिएका जनार्दनले विप्लवसँग कुनै खालको तिक्तता नरहेको र सहकार्य हुनुपर्ने बताएका थिए ।

‘विप्लव र म जनयुद्धदेखि सहकार्य गर्दै आएका हौँ । चुनवाङ र थवाङका बैठकमा एउटै थालमा भात खाएका हौँ । केही समयदेखि हामी दुईबिच फाटो ल्याउने काम भयो । तर पनि हामी दुई जनाबिच फाटो आएन । अहिले पनि मिलेकै छौँ । पहिला पनि मिलेकै थियौँ । विप्लव भूमिगत हुँदा पनि सम्पर्क समन्वय हुँदै आएको थियो’, प्रज्ञाको मञ्चलाई प्रयोग गर्दै जनार्दनले सुनाएका थिए ।

माओवादी केन्द्रबाट धोका भएको आशय व्यक्त गरेका विप्लवले माओवादीहरू मिल्नुको विकल्प नरहेको पनि सुनाएका थिए । उनले पार्टी एकता गर्न नसके मोर्चा बनाएर भए पनि जानुपर्ने तर्क सुनाएका छन् ।

‘क्रान्तिकारीहरूका बिचमा एकता भए एकता, त्यो नभए मोर्चा पनि नबनाउने भन्ने कुराले सोच्नु हुँदैन, आज मोर्चा एकदमै आवश्यक छ’, विप्लवले अर्थपूर्ण शैलीमा भनेका छन् ।

पार्टी महाधिवेशनसँगै माओवादीभित्र चलिरहेको अन्तरसंघर्षमा विप्लवको उपस्थितिले माओवादीलाई कता लैजाला आमरुपमा प्रश्न उठेको छ । विप्लवलाई भित्र्याउने योजना अगाडि बढ्ला वा नन्दकिशोर अगाडि आउलान् ? माओवादीभित्र तीव्र चासोको विषय बनेको छ । जसले माओवादीलाई कसरी अगाडि बढ्छ भन्ने पनि देखाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट