रवि भन्छन्-‘सूर्यदर्शन सहकारी देखेको छैन, पाइला टेकेको छैन, मेरो कुनै खाता वा सेयरसमेत छैन’-Sutra News

रवि भन्छन्-‘सूर्यदर्शन सहकारी देखेको छैन, पाइला टेकेको छैन, मेरो कुनै खाता वा सेयरसमेत छैन’

शनिबार, १३ पौस २०८१

शनिबार, १३ पौस २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले नियम र कानुनअनुसार कमाएको आम्दानीबाहेक कुनै अवैध सम्पत्ति आर्जन नगरेको स्पष्ट पारेका छन् । पोखराको जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले शुक्रबार सम्पत्ति शुद्धीकरणको मुद्दामा बयान लिने क्रममा लामिछानेले यस्तो दाबी गरेका हुन् ।



लामिछानेले आफ्नो बयानमा ग्यालेक्सी टेलिभिजनमा राम्रो पारिश्रमिकमा काम गरेको र त्यो रकम कानुनअनुसार बैंक खातामा आएको बताए । उनले भने, ‘मैले कर तिरेर कमाएको पारिश्रमिक बाहेक मेरो खातामा अन्य कुनै रकम आएको छैन । मलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक छैन ।’

७ पुसमा दायर गरिएको मुद्दामा रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख बिगो माग गरिएको छ । लामिछानेका अनुसार यो रकम उनको व्यक्तिगत खाताबीच भएका रकम स्थानान्तरण, वालेट ट्रान्जेक्सन र परिवारका सदस्यसँगको लेनदेनलाई पनि जोडेर हिसाब निकालिएको हो । उनले भने, ‘मेरो आफ्नै खाताबाट अर्को खातामा सारेको रकम र परिवारको खातामा पठाएर फेरि त्यही खाताबाट आएको रकम समेत बिगोमा गन्ने गरिएको छ ।’

लामिछानेले ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईको निर्देशनमा आफूले प्रबन्ध निर्देशकका रूपमा काम गरेको र चेक काटेको स्पष्ट गरे । ‘गोर्खा मिडियाको आर्थिक कारोबारको सम्पूर्ण अधिकार जिबी राईसँग थियो। उनको निर्देशनबाहेक कुनै कारोबार भएको छैन,’ उनले भने ।

सहकारी ठगी प्रकरणमा पनि लामिछानेले इन्कारी बयान दिएका छन् । उनले पोखराको सूर्यदर्शन सहकारीमा आफूले कुनै संलग्नता नराखेको दाबी गर्दै भने, ‘सूर्यदर्शन सहकारी देखेको छैन, पाइला टेकेको छैन, मेरो कुनै खाता वा सेयरसमेत छैन ।’

लामिछानेको बयान बिहीबार सुरु भएर शुक्रबार सकिएको हो । थुनछेक बहसपछि मात्रै मुद्दाको थप प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट