देउवा निकट नै किन खुल्दै छन् सरकारविरुद्ध ?-Sutra News

देउवा निकट नै किन खुल्दै छन् सरकारविरुद्ध ?

आइतबार, १४ पौस २०८१

आइतबार, १४ पौस २०८१

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला केही महिनादेखि नै देश दौडाहा अभियानमा छिन् । उनले कांग्रेस किन कमजोर बन्यो र जनताका अपेक्षा के हुन् भन्ने विषयमा जनतासँग साक्षात्कार गरिरहेकी छिन् ।



देश दौडाहामा निस्किएकी संग्रौलाले हालै रिपोर्टस क्लबमा पुगेर सरकारबारे बोलेकी थिइन् । दुई ठूला दलको सहकार्यबाट बनेको सरकारले जनतामा कस्तो मनोविज्ञान बनाएको छ भन्ने विषयमा संग्रौलाले धारणा राखेकी थिइन् ।

संग्रौलाका अनुसार वर्तमान सरकारबाट जनता निकै निराश छन् । सँगै, सत्तारुढ दलभित्रै पनि सरकारको काम गराइबाट अन्यौलता व्यक्त भइरहेको छ । संग्रौलाको बुझाई सरकार उद्देश्यअनुरूप सञ्चालित हुन सकेन भन्नेछ ।

“दुई ठूला दल मिलेर जसरी सरकार गठन भयो, यसले आमरुपमा उत्साहको मनोविज्ञान बनाएको थियो, यद्यपि आज त्यो अवस्था छैन, जनतामा निराशा पैदा भएको छ”, उनले भनेकी छिन्, “जुन उद्देश्यमा सरकार बन्यो, त्यो उद्देश्यमा सरकार सञ्चालक नै अलमलमा परेको देखिन्छ ।”

उनको जस्तो बुझाई अर्का केन्द्रीय सदस्य नैनसिंह महरको देखिन्छ । महर सात बुँदे सहमतिभित्र सरकार नरहेको निष्कर्ष सुनाउँछन् ।

“सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्पिडअनुसार चल्न सकेको छैन, यसले जनतामाझ व्यापाक वितृष्णा पैदा गरेको छ”, उनले भनेका छन्, “सरकारले कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेको आभास भइरहेको छ ।”

डा. संग्रौला र महर दुवै पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ हुन् । उनीहरूको भाषा हेर्दा, कांग्रेसको संस्थापनभित्र नै सरकारप्रति असन्तुष्टि चुलिँदै गएको देखिन्छ ।
कांग्रेस इतर समूहले त खुलेरै सरकारको विरोध गरिरहेको छ । विशेषगरी इतर समूहका नेता डा. शेखर कोइरालाले सार्वजनिकरुपमै सरकारको आलोचना गरिरहेका छन् ।

“छिटोछिटो सरकार परिवर्तन हुने कार्य रोकेर देशमा स्थिरता कायम गर्न दुई ठुला दलको सरकार बनाएका हौँ, तर सरकारले उद्देश्यअनुसार परिणाम दिन सकेन”, गत सुदूरपश्चिम पुगेका डा. कोइरालाले भनेका थिए ।

आन्तरिक र बाह्य कारण

गत असार १७ मा भएको ७ बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । दलहरूले ७ बुँदे सहमति गर्दै गर्दा राजनीतिक स्थायित्वसँगै सुशासन र अर्थतन्त्रलाई लयमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । दलहरूले सहमतिमा संविधान संशोधनका कुरा पनि बोलेका छन् ।

यद्यपि, सरकार गठनको साढे ५ महिनाको अवधिमा पनि ७ बुँदे सहमतिमै उल्लेखित बुँदाहरू कार्यान्वयन हुन सकेको छैन । सरकारले सामान्य अपेक्षाअनुसार पनि काम गर्न नसक्दा निराशा बढाएको छ ।

सँगै, कतिपय निर्णयलाई लिएर कांग्रेस–एमालेभित्र विवाद छ । कतिपय प्रकरणमा आफ्नालाई जोगाउने र बाहिरकालाई कारबाही गरेको भन्ने आरोप पनि सरकारमाथि लागिरहेको छ । विशेषगरी सहकारी प्रकरणको विषयले कांग्रेसभित्र विवाद बढ्दो छ ।

ओली नेतृत्वको सरकारलाई बाह्य शक्ति राष्ट्रले वेवास्था गरेको सन्दर्भले पनि दुई दलबिचको दुरी बढाउँदै गरेको छ । भारतसँग सम्बन्ध टाढिँदै जाँदा ओलीले पहिलो भ्रमण चीनबाट गरे । यद्यपि, चीनसँगको भ्रमण खास उपलब्धिमूलक बन्न सकेन । सँगै, बिआरआईको विषयले कांग्रेस र एमालेभित्रै किचलो बनायो ।

यता, चीनसँगको भ्रमण उपलब्धिमूलक नबन्दै गर्दा भारतसँगको सम्बन्धमा थप दरार पैदा भएको छ । देउवा पत्निसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमण उपलब्धिमूलक नहुनुले पनि जसलाई पुष्टि गर्छ । जसले दुई दलबिचको दुरी बढाउँदै गरेको देखाउँछ ।

कतिपय राजनीतिक विश्लेषक देउवा निकटस्थबाटै सरकारबारे सार्वजनिकरुपमा प्रकट भएका धारणाले पनि कांग्रेस–एमाले सहकार्यमाथि प्रश्न उठाइरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट