काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको आईसीयूमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य भेट्न पुगेका छन्।
आइतबार साँझ त्यहाँ पुगेका दाहालले वैद्यका परिवार भेटेर उनको स्वास्थ्य अवस्थाबारे बुझेका छन्। वैद्य अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जअन्तर्गतको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा आईसीयूमा उपचाररत छन्।
उपचारमा संलग्न चिकित्सकहरूले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएको दाहालको सचिवालयले जनाएको छ।
वैद्य केही दिन पहिले स्वास्थ्यमा खराबी देखिएपछि अस्पताल भर्ना भएका थिए। त्यसअघि उनको पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो। हप्ताव्यापी बैठकका कारण वैद्यको स्वास्थ्य खराबी बढेको थियो।