जनमतभित्र सिकेको नयाँ अभ्यास : सामाजिक सञ्जालमा आफ्नो पक्षमा नलेख्ने नेतालाई कारबाही गर्ने-Sutra News

जनमतभित्र सिकेको नयाँ अभ्यास : सामाजिक सञ्जालमा आफ्नो पक्षमा नलेख्ने नेतालाई कारबाही गर्ने

सोमबार, १५ पौस २०८१

सोमबार, १५ पौस २०८१

काठमाडाैं । सिके राउत नेतृत्वको जनमत पार्टीमा नयाँ अभ्यासको थालनी गरिएको छ । सुन्दै अनौठो लाग्ने गरी पार्टी अध्यक्ष सिके राउतले सामाजिक सञ्जालसम्बन्धी नयाँ नीति बनाएका हुन् ।



उनले बनाएको नयाँ नीतिमा प्रत्येक पार्टी पदाधिकारीहरूलाई आफ्नो सामाजिक सञ्जालमा हरेक दिन पार्टी वा नेतृत्वबारे एउटा सकारात्मक पोस्ट गर्नुपर्ने निर्देशन दिइएको छ । राउतले आइतबार केन्द्रीय सचिवालयको बैठक बसालेर यस्तो निर्णय गराएका हुन् ।

राउतले पार्टी पदाधिकारीलाई सामाजिक सञ्जालमा पोष्ट मात्रै गर्न निर्देशन दिएका छैनन्, जसलाई अनुगमन गर्ने पनि निर्णय लिएका छन् । ५ बुँदे सामाजिक सञ्जालसम्बन्धी निर्णयमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले सामाजिक सञ्जालमा पोस्ट गरे वा नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेस गरिने बताइएको छ । मासिक रूपमा २० वा बढी पोस्ट गर्नेलाई उच्च मूल्यांकन गर्दै पुरस्कृत गरिने बताइएको छ ।

यदि ३ पोष्टभन्दा कम गरेको पाइए निष्क्रिय रहेको बुझाईसहित पार्टी जिम्मेवारीमा एक तह घटुवा गर्ने वा जिम्मेवारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिने उल्लेख छ ।

पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले २०८१ पुस मसान्तसम्ममा आ–आफ्नो सामाजिक सञ्जालको आइडी सामाजिक सञ्जाल अनुगमन समितिलाई जानकारी गराउनुपर्ने बताइएको छ । पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरूद्धमा अभिव्यक्ति दिने, बोल्ने÷लेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्नु हुँदैन, सो गरेमा पार्टीको विधान अनुसार कारबाही हुने प्रावधान छ ।

पार्टीका नेताको सन्दर्भमा आलोचना नै गर्नुपरेमा पार्टीभित्रै राख्नुपर्ने निर्णय राउतले गराएका छन् । जसलाई बाहिर नल्याउन उनको निर्देशन छ ।

विशेषगरी राउत स्वयम् पछिल्लो समय पारिवारिक र पार्टीको विषयबाट विवादित भइरहेका छन् । पत्नि सोनी सिन्धुलाई दमन गरेको विषयले राउत बदनामित छन् भने सांसद गोमा लाभ (सापकोटा)लाई बिना कारण हटाउन खोजेको विषयले पनि जनमतभित्र उनको विरोध भइरहेको छ ।

सँगै, मधेश सरकारको नेतृत्वमा आफ्नालाई अगाडि सारेको विषयले पनि जनमतभित्र राउतको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट