सुन्दरी तथा सेलिब्रेटीलाई स्वागत, पुराना तथा पार्टी निर्माणकर्तामाथि लात्ती-Sutra News

सुन्दरी तथा सेलिब्रेटीलाई स्वागत, पुराना तथा पार्टी निर्माणकर्तामाथि लात्ती

सोमबार, १५ पौस २०८१

सोमबार, १५ पौस २०८१

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीका एकांकी निर्णयहरूबाट सत्तारुढ नेकपा (एमाले)भित्र खैलाबैलाको स्थिति छ । ओलीले एमालेभित्र आफू अनुकूललाई पुरस्कृत गर्ने र विरोधीलाई निषेध गर्ने नीति अक्षरशः अगाडि सारेका छन् । जुन नीतिको मारमा पुराना र पार्टी निर्माणमा भूमिका खेलेका नेताहरू पर्न थालेका छन् ।



ओलीले १०औँ महाधिवेशनमा आफूलाई चुनौती दिएका भीम रावललाई स्पष्टीकरण सोध्दै पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरे । ओली अनुकूलको नहुँदा पूर्व उपाध्यक्षसमेत रहेका नेता रावल एमालेको साधारण सदस्यसमेतमा अटेनन् ।

ओली कारबाहीमा परेपछि रावल अहिले नयाँ पार्टी निर्माणतर्फ जुटेका छन् । उनले ओलीको भण्डाफोर गर्दै एमालेभित्रबाट नयाँ पार्टी बनाउने अभियान खुलारूपबाटै थालेका छन् । रावलले पार्टी केन्द्रीय कमिटीको बैठकपछि आफ्नो अभियान थाल्ने तयारी गरिरहेका छन् ।

रावलले विशेषगरी अध्यक्ष ओलीको कार्यशैली र कतिपय पार्टी निर्णयका सन्दर्भमा आलोचना गर्दै आएका थिए । जुन ओलीलाई चित्त बुझेको थिएन ।

ओलीले रावललाई मात्रै होइन, स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई पनि कारबाही गरेका छन् । रावललाई पार्टीबाटै निष्कासित गरेका ओलीले पाण्डे र तिमल्सिनालाई ६ महिनाको लागि निलम्बन गरेका छन् ।

विडम्बना नै भन्नुपर्छ, पाण्डे र तिमल्सिना अरू कारण नभई विवादित व्यापारी मीनबहादुर गुरुङसँग जग्गा लेनदेनको विरोध गरेकै कारण ६ महिनाका लागि निलम्बनमा परेका हुन् । दुवैले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत विवादित गुरुङसँग जग्गा लिन नहुने तर्क राखेका थिए । जुन आफू अनुकूल नभएपछि ओलीले स्पष्टीकरण सोध्दै पार्टी जिम्मेवारीबाट कारबाही गरे ।

यसरी एकपछि अर्को गरी नेताहरूलाई कारबाही गरिँदा एमालेभित्र भने खैलाबैलाको अवस्था छ । ओलीले नेताहरूमाथि कारबाही गर्ने निर्णय नै एकांकी शैलीमा गरेका थिए । उनले पुस १० को सचिवालय बैठकमार्फत कारबाहीको निर्णय सुनाउँदै गर्दा अधिकांश सचिवालय सदस्य विरोधमा उत्रिएका थिए ।

ओलीको निर्णयमा उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे र उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ विरोधमा उभिएका थिए । यसैगरी, सचिव द्वय गोकर्ण विष्ट र योगेश भट्टराईले खुलेरै आपत्ति जनाएका थिए । अन्य सदस्य मौन बन्दा ओलीले निर्णयलाई कार्यान्वयनमा लगे ।

यसरी पुराना र पार्टी निर्माणमा खटिएका नेताहरूमाथि मनलागी कारबाहीको डन्डा चलाइरहेका ओलीले बाहिरका अतिथिलाई भन्ने स्वागत अभियान थालेका छन् । कलाकार र सुन्दरीहरूलाई भित्र्याउन मोहित देखिने ओलीले बिन्दा र उषाकिरण जस्ता नेतृलाई पाखा पन्छाउँदै आइतबार सुन्दरी बिभा बस्नेतलाई विशेष कार्यक्रम आयोजना गर्दै स्वागत गरेका थिए ।

आइतबार ओलीले पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गर्दै मिसेज हेरिटेज इन्टरनेशनलकी विजेता बिभा बस्नेत, जेसिसका निवर्तमान अध्यक्ष रविन पोखरेल, शिवानी गौतम, गायत्री बिसीलगायतलाई स्वागत गरेका थिए । सुन्दरीहरूलाई स्वागत गर्दै ओलीले पार्टीले नयाँपन पाउने विश्वास व्यक्त गरेका थिए ।

सेलिब्रेटीहरुप्रति आकर्षित देखिने ओलीले यसअघि पनि गायिकादेखि सुन्दरीहरूलाई पार्टीभित्र भित्र्याएका छन् । चर्चित गायिका कोमल वली अहिले एमालेको सक्रिय जिम्मेवारीमा छिन् भने अभिनेत्री करिश्मा मानन्धर पनि नाम नै परिवर्तन गरेर ‘सूर्यकुमारी’ राख्दै एमालेभित्र सक्रिय छिन् । यद्यपि, सेलिब्रेटीलाई खोज्दै पुराना र पार्टी निर्माणमा भूमिका खेलेका नेताहरूमाथि एकपछि अर्को गरी ओलीले डन्डा चलाउँदा एमालेको भविष्य भने के हुने अन्योल देखिन्छ ।

सम्बन्धित समाचार

तीन नेतालाई कारबाही गरेर ओलीले गर्न खोजेको पुस्ट्याइँ के ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट