पार्टी खोल्ने तयारीमा भीम रावल, १७ गते पत्रकार सम्मेलन गर्दै-Sutra News

पार्टी खोल्ने तयारीमा भीम रावल, १७ गते पत्रकार सम्मेलन गर्दै

सोमबार, १५ पौस २०८१

सोमबार, १५ पौस २०८१

काठमाडौं । एमालेबाट निष्कासित भएपछि नयाँ पार्टी निर्माणको छलफलमा जुटेका डा. भीम रावलले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन् ।



सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।

जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् ।

भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेको उनी निकट स्रोतको भनाइ छ । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्कृयजस्तै बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट