काठमाडौं । यति बेला एमालेबाट निष्कासित नेता डा. भीम रावलले के गर्लान् ? भन्ने चासो आमरूपमा देखिन्छ । एमालेतर्फको बाटो बन्द हुँदै गर्दा रावल एकीकृत समाजवादीमा जालान् वा अर्को कुनै नयाँ पार्टी गठन गर्लान् ? धेरैलाई जिज्ञासा लागेको छ ।
एमालेले कारबाही गरे लगत्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रावललाई पार्टीमा आउन सार्वजनिकरूपबाटै आग्रह गरेका थिए । एक कार्यक्रमका बिच भुसालले एकीकृत समाजवादीमा रावलको निम्ति ठाउँ रहेको बताएका थिए ।
“उहाँले के गर्नुहुन्छ भन्न सक्दिन, नेपाल राम्रो पार्टी नभएर दुःख पाएको छ”, उनले भनेका थिए, “म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु, यसैलाई राम्रो पार्टी बनाउने अभियानमा जोडिन अनुरोध गर्दछु ।”
यद्यपि, रावलले एकीकृत समाजवादीको प्रस्तावलाई स्वीकार गरिसकेका छैनन् । उनले छिट्टै के गर्ने भन्ने बारे निर्णय लिने बताएका छन् ।
रावलले भावी कार्य योजनाका बारेमा बताउन पुस १७ गते पत्रकार सम्मेलन आयोजना गरेका छन् । जुन पत्रकार सम्मेलनबाटै आगामी कार्य योजना सार्वजनिक गरिने उनका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।
“पत्रकार सम्मेलनमार्फत नै आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा जानकारी दिने तयारी छ”, दुलालले भनेका छन्, “नयाँ पार्टी खोल्ने वा अरू कुनै पार्टीमा जाने त्यही दिन थाहा हुनेछ ।”
अहिलेसम्मको स्थितिलाई हेर्दा, रावलले आफूलाई ‘रिजर्भ’मा राखेका छन् ।
योबिच रावल नेताहरूसँगको भेटघाटमा पनि व्यस्त छन् । उनले आफू निकटस्थ मानिएका नेताहरूलाई बोलाएर भेटिरहेका छन् ।
सोमबार रावलले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
रावलले भेटेका जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् ।
दुलालले जनाएअनुसार सबैको सुझावपछि मात्रै के गर्ने भन्ने निर्णय लिने तयारी छ ।
२०७९ को मंसिरमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिँदै अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका थिए । सर्वसम्मत अध्यक्ष बन्ने चाहनामा तगारो बनेका रावल त्यस समयदेखि नै ओलीको आँखामा तारो बनेका थिए ।
जसको कारण ओलीले प्रत्येक सन्दर्भमा रावललाई किनारामा पुर्याउँदै लगे । ओलीसँगको टकराबकै कारण अन्ततः रावल एमालेबाटै लखेटिए ।
विशेषगरी पछिल्लो समय ओलीको कार्यशैली र केही मनमौजी निर्णयको रावलले खुलेर विरोध गर्दै आएका थिए । विवादित व्यापारी मीनबहादुर गुरुङसँग जग्गा लिएको विषयमा कडा विरोध गरेबापत रावलसँग पार्टी अध्यक्ष ओलीले कात्तिक ४ मा स्पष्टीकरण सोधेका थिए ।
ओलीले रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग पनि स्पष्टीकरण सोधेका थिए ।
यद्यपि, पाण्डे र तिमिल्सिनालाई ६ महिना निलम्बन गरेका ओलीले रावललाई भने पार्टी सदस्यसमेत नरहने गरी निष्कासित गरे । उनीमाथि पार्टी जिम्मेवारी निर्वाह नगरेको निर्वाह नगरेको र पार्टी नेतृत्वलाई बदनाम बनाउन लागि परेको आरोप अध्यक्ष ओलीको छ ।
पुस १० मा पार्टी सचिवालयको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भनेका छन्, “स्पष्टीकरण त दिनुभयो, तर पार्टीको विधिभन्दा बाहिर गएर सार्वजनिक रूपमा बोल्नु हुन्न भन्ने कुरा महसुस गरेको देखिएन, त्यसैले पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।”