बस दुर्घटनामा ११ जनाको मृत्यु, २२ घाइते-Sutra News

बस दुर्घटनामा ११ जनाको मृत्यु, २२ घाइते

सोमबार, १५ पौस २०८१

सोमबार, १५ पौस २०८१

काठमाडौं । पाकिस्तानको पञ्जाबको फतेह जङ्ग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् ।



जियो न्युजले मोटरवे पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको बताएको छ । उद्धार अधिकारीहरूका अनुसार पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए ।

तीन महिलासहित छ जनालाई बेनजीर भुट्टो अस्पतालमा सारिएको र एक घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको उद्धार अधिकारीहरूले बताएका छन् ।

जियो न्युजका अनुसार मोटरवे प्रहरीले दुर्घटना चालकको लापरवाहीका कारण भएको बताएको छ । मोटरवे प्रहरी महानिरीक्षक रिफत मुख्तारले बस दुर्घटनाको तत्काल छानबिन गर्न आदेश दिनुभएको छ ।

गत महिना विवाहका पाहुनाहरू सहितको ‘अत्यधिक गतिमा’ गुडिरहेको बस पुलबाट सिन्धु नदीमा खस्दा गिलगिट–बाल्टिस्तानमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सेप्टेम्बरमा बलुचिस्तानको शेरानीको दानासर क्षेत्रमा बस खाडलमा खस्दा छ जनाको मृत्यु र अन्य २० जना घाइते भएका थिए ।

शनिबारको एउटा घातक दुर्घटनामा ज्याकोबाबादको थुल क्षेत्रमा यात्रुवाहक बस खाडलमा खस्दा पाँच जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको एआरवाई न्युजले जनाएको छ ।

अक्टोबर २७ मा एउटा यात्रुवाहक बस खाडलमा खस्दा चार जनाको मृत्यु र २३ भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट