काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४।६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको जिप्रकाले जनाएको छ ।
पश्चिमी क्षेत्रमा केही समयदेखि लगातार साना भूकम्पको धक्का महसुस भइरहेको छ । पछिल्लो पटक पुस ११मा जाजकोट केन्द्रबिन्दु भएर गएको थियो भने पुस ९ मा दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
पुसमा मात्रै मंगलबारसहित ७ पटक भूकम्प गएको छ ।
लामो समयदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम कायमै रहेको विज्ञहरु बताउँछन् । स–साना भूकम्प गइरहेकाले जुनसुकै समयमा पनि ठूलो भूकम्प जान सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्नुपर्ने देखिएको विज्ञहरुको भनाई छ ।