महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी-Sutra News

महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

मंगलबार, १६ पौस २०८१

मंगलबार, १६ पौस २०८१

काठमाडाैं । महाभियोग लगाइएका र त्यसपछि निलम्बनमा परेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलविरुद्ध सोलस्थित एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ। बिबिसीले जनाएअनुसार उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।



उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ। त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ। तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

अनुसन्धानकर्ताहरूले आइतवार राति यउललाई विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गर्न पुर्जी जारी गर्नुपर्ने माग गरेका थिए। उनका वकिलले भने उक्त कार्यलाई “अवैधानिक” कार्य भनेका छन्। यउन र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसदद्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ।

यदि उनी पक्राउ परे भने पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्नेछन्। डिसेम्बर पहिलो साता छोटो अवधिका लागि ‘मार्शल ल’ लागु गर्न खोजेपछि उनीविरुद्ध प्रदर्शन भएको थियो भने पछि उनीमाथि महाभियोग लगाइएको थियो।

पक्राउ पुर्जीको कार्यान्वयनका लागि अनुसन्धानकर्ताहरूले ज्यानुअरी ६ सम्मको समय पाएका छन् र उनीहरूले त्यो समय थप गर्नका लागि पनि अनुरोध गर्न सक्छन्। अनुसन्धानकर्ताहरूले उनीविरुद्धको पक्राउ पुर्जीलाई कार्यान्वयन गर्न सक्छन् वा सक्दैनन् वा उनका सुरक्षा गार्डहरू तथा समर्थकको प्रदर्शनका कारण त्यो कार्यान्वयन गर्न अक्षम हुन्छन् भन्ने अनिश्चित छ।

राष्ट्रपतिको सुरक्षा सेवाले यसअघि अनुसन्धानकर्ताहरूलाई राष्ट्रपतिको कार्यालयभित्रको चौरमा र यउनको निजी निवासमा अदालतको अनुमति लिएर पनि प्रवेश गरेर खोजी गर्न रोकिदिएको थियो।

विगतमा दक्षिण कोरियाली अधिकारीहरूले प्रमुख नेताविरुद्ध उनीहरूको सहयोगी तथा समर्थकले अवरोध गरेपछि पक्राउका प्रयासलाई त्यागेका उदाहरणहरू छन्। सोमवार यउनको कानुनी टोलीले अनुसन्धानकर्ताहरूलाई उनलाई पक्राउ गर्ने अधिकार नभएको बताए। उनीहरूले ‘मार्शल ल’ घोषणा गर्नु राष्ट्रपतिको संवैधानिक अधिकारभित्र पर्ने बताएका छन्।

यउनले यसअघि ‘मार्शल ल’ लगाउने आफ्नो निर्णयको बचाउ गर्दै “अन्तिम अवस्थासम्म लड्ने” बताएका थिए।

उनीमाथि महाभियोग लागेपछि कार्यवाहक राष्ट्रपति बनेका हान डक-सोमाथि पनि महाभियोग लागेको छ। यउललाई महाभियोग लगाइएको दुई साता भित्रै कार्यवाहक राष्ट्रपतिमाथि पनि उस्तै कारबाही भएको हो।

हानले देशमा उत्पन्न भएको राजनीतिक सङ्क्रमणका बेला नेतृत्व गर्ने ठानिएको थियो। तर विपक्षी सांसदहरूले उनले यउलमाथिको महाभियोग प्रक्रियालाई अन्त्य गर्न अस्वीकार गरिरहेको आरोप लगाउँदै महाभियोग लगाउनुपरेको बताएका थिए।

गत शुक्रवार संसद्‌मा महाभियोगबारे मतदान हुँदै गर्दा त्यहाँ अराजक खालको दृश्य देखिएको थियो। यउल र हानको सत्ताधारी सत्ताधारी पीपल्स पावर पार्टीका सांसदहरूले सभामुखले महाभियोग प्रस्तावविरुद्ध विरोध गरेका थिए।

सत्ताधारी दलका सांसदहरूले महाभियोगको पक्षमा भएको मतदातको बीचमै ‘अवैध’ भन्दै नारा लगाएका थिए। उनीहरूले उक्त कार्यलाई ‘शक्तिको दुरुपयोग’ पनि भने। सत्ताधारी दलका सांसदहरूले सभामुखको राजीनामा माग गरेका थिए। उनीहरूमध्ये अधिकांशले महाभियोग प्रस्तावमा मतदान बहिष्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट