काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै एमालेतर्फ नै गएका वामदेव गौतम पार्टीभित्र थप भूमिका नपाएपछि बाहिरिए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीकै नेतृत्वमा हिस्सा मागेका थिए । यद्यपि, जसमा ओली सहमत भएनन् ।
गौतमले थप भूमिका नपाएपछि बार्गेनिङकै बिच २०७८ भदौमा एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । उपाध्यक्ष पदबाट राजीनामा दिए पनि गौतमले ओलीसँगको संवाद भने कायमै राखे ।
पछिल्लो पटक २०८० असार ३ मा ओलीलाई भेटेर गौतमले दोस्रो वरीयतासहित एमालेमा फर्किने वातावरण मिलाउन आग्रह गरेका थिए । यद्यपि, दुई वर्षपछिको सो प्रस्तावमा ओली सहमत भएनन् ।
एमाले छाडेपछि यता न उता भएका गौतम यति बेला एकीकृत समाजवादी भित्रने छलफलमा छन् । उनले सोमबार आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमै पुगेर अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । जहाँ उनले पार्टीभित्रको वरीयतासहित सैद्धान्तिक सन्दर्भमा छलफल गरेका छन् ।
एकीकृत समाजवादीभित्र पनि उनलाई तेस्रो वरीयतासहित भित्र्याउन सहमति जुटिसकेको छ । हालै सम्पन्न स्थायी समिति बैठकले जसबारे निर्णय लिएको थियो । यद्यपि, उनले उठाएका अन्य मुद्दामा भने सहमति जुट्न बाँकी छ ।
एकीकृत समाजवादीका स्थायी समिति सदस्य साध्य बहादुर भण्डारीले बताएअनुसार गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डा र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने प्रस्ताव गरेका छन् । जसमा अधिकांश नेताहरू सहमत छैनन् ।
भण्डारीले बताएअनुसार गौतमका प्रस्तावलाई छलफलको विषय बनाएर जाने मोटामोटीरुपमा सहमति जुटेको छ । “गौतम जिले राखेको प्रस्तावलाई पूर्ण स्वीकार गरेर जाने अवस्था छैन, यद्यपि छलफलको विषय हुनसक्छ भन्ने हो”, भण्डारीले छलफलबारे भने, “उहाँका प्रस्तावलाई पार्टीभित्रको छलफलको विषय बनाएर लैजाने विषयमा भने मोटामोटी सहमति जुटेको छ ।”
भण्डारीले बताएअनुसार गौतमलाई भित्र्याउन अन्य विषयमा भने सहमति भइसकेको छ । “केही अन्य नेताको व्यवस्थापनको विषयमा समस्या छ, नत्र बाँकी विषयमा सहमति जुटिसकेको अवस्था छ”, भण्डारीले भनेका छन्, “एक/दुई दिनभित्रै बाँकी विषय टुङ्गिन्छ ।”
भण्डारीले बताएअनुसार केही दिनभित्रै गौतमलाई भित्र्याउने विधिवत् प्रक्रिया टुङ्गिन सक्छ ।
यद्यपि, गौतमलाई भित्र्याउँदै गर्दा एसभित्र बढिरहेको विवाद के होला भन्ने संशय उठेको छ । पार्टी गठनदेखि नै एसभित्र विवादको अवस्था छ । पार्टी महाधिवेशनसँगै तीव्र बनेको कार्य विभाजनको विषय हालैको स्थायी समितिले टुंग्याएपनि जसमा सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि पोखेका छन् ।
देखिँदा सग्लो देखिए पनि एसभित्र चरम गुटबन्दीको अवस्था छ । अहिले खनालले एउटा गुट चलाइरहँदा गौतमको प्रवेशसँगै अर्को गुट निर्माण हुनसक्ने सम्भावना देखिन्छ । जसले एसभित्र थप किचलोको अवस्था बनाउँदै भन्न सकिन्न ।
नेता भण्डारी पार्टी निर्माणकै चरणमा रहेको कारण अन्तर्विरोध हुने विषय स्वाभाविक हुने र जसलाई हल गरेर अगाडि बढ्दा पार्टी थप सुद्धढ हुने बताउँछन् । “कुनै नेता प्रवेश गर्दै गर्दा उसको समूह बन्ने कुरा स्वाभाविक हो, तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय रहन्छ”, उनले भनेका छन्, “व्यवस्थापन गरेर जाँदा पार्टीलाई थप सुद्धढ बनाउन सहयोग पुग्न सक्छ ।”
सम्बन्धित समाचार