सोवितालाई निवासमै बोलाएर के भने बाबुरामले ?-Sutra News

सोवितालाई निवासमै बोलाएर के भने बाबुरामले ?

मंगलबार, १६ पौस २०८१

मंगलबार, १६ पौस २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्दै गर्दा केही दल तथा नेताले खुलेरै विरोध गरे । विशेषगरी उनीमाथि राजनीतिक पूर्वाग्रह साँधिएको आरोप लगाए ।



लामिछानेलाई केही नेताहरुले हिरासतमै समेत पुगेर भेटे । जसमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईसमेत छन् ।
भट्टराईले मंसिर २१ मा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै पुगेर भेटेका थिए ।

लामिछानेलाई भेटेका भट्टराईले सरकारले प्रतिशोध साँधेको आरोप लगाएका थिए । “उहाँमाथि प्रतिशोधपूर्ण व्यवहार भयो भन्ने देखिन्छ, वास्तविक सहकारी पीडितहरुका समस्यालाई सम्बोधन गर्नतिरभन्दा विषयान्तर गर्न तिर सरकार उन्मुख बन्यो”, लामिछानेलाई भेटेपछि भट्टराईले भनेका थिए ।

यतिखेर लामिछानेविरुद्धको मुद्दामा अदालती प्रक्रिया सुरु भएको छ । सरकारी वकिलको कार्यालयले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ ।

लामिछानेमाथि अदालती प्रक्रिया सुरु भइरहँदा रास्वपाभित्रका केही नेता दौडधुपमा छन् । जसमा अधिवक्ता समेत रहेकी नेतृ सोभिता गौतम पनि सक्रिय छिन् । पछिल्लो समय गौतमको कार्यक्षेत्र नै पोखरा परेको छ ।

यस्तोमा भट्टराईले मंगलबार गौतमलाई आफ्नै निवासमा बोलाएर भेटेका छन् । भट्टराईले गौतमसँग अर्थराजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्यलगायतका विषय छलफल भएको बताएका छन् ।

‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ(राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्यलगायत विविध विषयमा उपयोगी विमर्श भयो’, भेटबारे भट्टराईले भनेका छन् ।

यद्यपि, लामिछाने हिरासतमा भइरहँदा रास्वपाभित्रको राजनीति अहिले केही बदलिँदो छ । जसको प्रभाव सिंगो राजनीतिमा पनि पर्न खोजेको देखिन्छ । वैकल्पिक शक्ति बनाउने भन्दै जुटेका भट्टराईले यसअघि नै लामिछानेसँग सहकार्यको प्रस्ताव गरेका छन् ।

गौतमलाई बोलाएर गरिएको छलफललाई भट्टराई–लामिछाने संवादको निरन्तरताको रुपमा लिन सकिन्छ । वैकिल्पक शक्ति बनाउने राजनीतिभित्रको एउटा अंशको रुपमा यो भेटलाई अथ्र्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट