

काठमाडाैं । ग्लोबल आईएमई बैंकले यही पुस १८ गते बिहीबार आफ्नो १८ औं स्थापना दिवस मनाउँदैछ । बैंकले आफ्नो व्यावसायिक यात्रा सफल बनाउन सहयोग, विश्वास र सद्भाव प्रदान गर्ने ग्राहक, सरोकारवाला तथा शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा निक्षेप, लगानी र पुँजीमा सन्तोषजनक वृद्धि हासिल गरेको बैंकले जनाएको छ ।
कर्जा प्रवाहमा अपेक्षित वृद्धि नभए पनि यस आर्थिक वर्षमा बैंकले सञ्चालन मुनाफा रु. ८८६.७३ करोड र करपछिको मुनाफा रु. ६१३.७४ करोड प्राप्त गरेको छ। बैंकले शेयर प्रिमियम र पुँजीगत जगेडा कोषसम्बन्धी कर विवादका कारण रु. १.३२ अर्ब रकम सरकारलाई बुझाउनुपरेको हुँदा जगेडा तथा कोषमा प्रभाव परेको उल्लेख छ ।
ग्लोबल आईएमई बैंकले आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्न १८ वर्षको यात्रामा प्राप्त सहयोग र विश्वासलाई महत्त्वपूर्ण ठानेको छ। बैंकले आगामी दिनमा अझ प्रभावकारी सेवा र व्यावसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकको कारोबार समीक्षा
तालिकाअनुसार २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ ।
एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारीपश्चात लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरू एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पूँजी र गाभिएपश्चात कायम भएको पुँजीको भिन्नताको रकम (पूँजीगत जगेडा कोष)बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सम्मानित सर्वोच्च अदालतसम्म पुगि, पुँजीगत जगेडा रकम र शेयर प्रिमियमको रकम समेतमा एकमुस्ट रु. १,३२,३९,६१,३८१।( (अक्षरेपी रू एक अरब बत्तीस करोड उन्चालीस लाख एकसट्ठी हजार तीनसय एकासी) थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकाले बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको छ ।
सञ्चालन नतिजा
आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा रु. ८८६.७३ करोड र कर पछिको मुनाफा रु. ६१३.७४ करोड हासिल गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद ब्याज आम्दानी गत वर्षभन्दा रु. २५ करोडले कमी भएको छ भने फि शुल्क तथा सञ्चालन आम्दानीमा भने रु ११२.७७ करोडले वृद्धि भएको छ । त्यस्तै, सञ्चालन खर्च तर्फ पनि रु १०८.४६ करोडले वृद्धि भएको बैंकले जनाएकाे छ ।
समीक्षा अवधिमा बैंकको खुद मुनाफामा रु ५५.६९ करोडले कमी आएको छ । कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा सङ्कुचन आएको छ ।
यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भयो । निक्षेपका दरहरूमा उल्लेखनीय रुपमा कमी आए पनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ ।
यसको अतिरिक्त गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकाले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको छ । सञ्चालन आम्दानीको बढोत्तरी तथा सञ्चालन खर्चमा गरिएको नियन्त्रणले मुनाफालाई सन्तुलनमा राख्न टेवा पुर्याएको छ ।
चालू आर्थिक वर्षको प्रथम त्रैमासको प्रगति
चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा बैंकको निक्षेपमा रु.२४.५१ अर्बले वृद्धि भै रु.५२९.३८ अर्ब पुगेको छ, भने कर्जा लगानी तर्फ पनि रु. २७.८६ अर्बले वृद्धि भै रु.४१८.६३ अर्ब पुगेको छ ।
चालु वर्षको प्रथम त्रैमास अवधिमा बैंकले रु. १५१ करोड भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा बैंकको निष्क्रिय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडि बढ्नु पर्ने अवस्था रहेको छ ।
भावी कार्यक्रम
आगामी दिनमा ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, शेयरधनीहरूलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रूपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गरिने बैंकले जनाएकाे छ ।
बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य लिएकाे जनाएकाे छ ।
भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिगले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संसाधनको लागत समेत घट्न जाने विश्वास बैंककाे छ । आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालिन मजबुतिकरणमा मद्दत पुगी शेयरधनीहरूलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने अपेक्षा बैंकले गरेकाे छ ।