रास्वपा भित्रिन द्वार खोज्दै मुकुल ढकाल-Sutra News

रास्वपा भित्रिन द्वार खोज्दै मुकुल ढकाल

आत्मालोचना गर्दै ढकालले भने– सम्बन्ध त दुई तर्फी हुन्छ, गल्ती ममा मात्र थुपारियो, गल्ती त सायद दुवैको हुनपर्छ नि ! अलिकति गल्ती मेरो होला, अलिकति गल्ती उहाँको होला र अलिकति नजर लाग्यो होला पापी दुनियाँको !

बिहिबार, १८ पौस २०८१

बिहिबार, १८ पौस २०८१

काठमाडौं । जब मुकुल ढकाल जिल्ला दौडाहामा निस्किए, अनि पार्टी सभापति रवि लामिछाने सच्चिनुपर्छ भन्दै प्रतिवेदन लेखे, तब उनी रास्वपाबाटै अलग हुने अवस्थामा पुगे । पार्टी सभापतिविरुद्ध प्रतिवेदनमार्फत औँला उठाएका ढकाललाई असार २५ मा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो ।



पार्टी जिम्मेवारीबाट हटाउँदै गर्दा रास्वपाले पुनरावलोकनका लागि ३५ दिनको समय दिएको थियो । यद्यपि, ढकालले पुनरावलोकनभन्दा आफूमाथिको कारबाही अवैधानिक भएको पुष्टि गर्न लागे । उनी निर्वाचन आयोगमा कारबाही बदरका लागि माग गर्दै पत्र लेखेका थिए ।

त्योबिचमा पार्टी सभापति लामिछानेसहित शीर्ष नेताहरूसँगको दुरी बढाउन लागे । उनले सार्वजनिक मञ्चलाई प्रयोग गर्दै आलोचनाका वर्षा गराए ।

पुनरावलोकनसहितको समय गुज्रिएपछि रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई भदौ ११ मा साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्‍यो । त्योबिचमा दुई पटक स्पष्टीकरण सोधेको भए पनि ढकालले स्पष्टीकरणभन्दा लामिछाने स्वयम्को नैतिकतामाथि प्रश्न उठाएका थिए ।

ढकाल रास्वपाबाट पूर्णरुपमा पाखा परेको ४ महिना पूरा भएको छ । योबिचमा रास्वपाभित्र र बाहिरको राजनीतिक परिस्थिति पनि निकै नै बदलिएको छ । ढकालले सच्चिन भनेका स्वयम् पार्टी सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन् । उनीमाथि सहकारी अपचलन प्रकरणमा मुद्दा सुरु भएको छ ।

लामिछानेमाथि कानुनी कारबाही प्रक्रिया सुरु हुँदै गर्दा ढकाल भने रास्वपा फर्किने उपायको खोजीमा लागेका छन् । ढकालले सार्वजनिकरुपमा आत्मालोचना गर्दै रास्वपाभित्र फर्किन दबाब बढाउन थालेका छन् ।

उनकै योजनाअनुसार रास्वपाको कोशीका सभापति राजेश तिम्सिना र मधेसका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेख्दै पार्टीमा पुरानै जिम्मेवारीसहित फर्काउन माग गरेका छन् । तिम्सिना र यादवले ‘राइट टु रिकल’को नीतिअनुसार भित्र्याउनुपर्ने मत राखेका छन् ।

‘राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु, यसर्थ, पार्टीमा डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु’, तिम्सिनाले कार्यवाहक सभापति अर्याललाई पत्र लेख्दै भनेका छन् ।

मधेसका सभापति यादवले पनि पुरानो कुरा बिर्सेन जुट्नुपर्ने तर्क अगाडि सारेका छन् । “कसैसँग रिस, राग, द्वेष र अनुराग नराखीकन एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र संकटको यो घडी फुटेर होइन जुटेर सामना गरौँ”, यादवले लेखेको पत्रमा उल्लेख छ ।

दुई प्रदेश सभापतिलाई पत्र लेखाएका ढकालले बिहीबार स्वयंले आत्मालोचनासहित खुला पत्र लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी सभापति र आफूबिचमा अरूले खेलिदिएको र पार्टीलाई नै विघटित गराउने अवस्थामा पुर्‍याएको तर्क गरेका छन् ।

“हामीबिचको सम्बन्धमा भित्र बाहिरकाले खेलेको राजनीति समयमा बुझ्न नसक्नु वा भनौँ बुझाउन नसक्नु हाम्रो गल्ती पक्कै हो, सम्बन्ध त दुई तर्फी हुन्छ, गल्ती ममा मात्र थुपारियो, गल्ती त सायद दुवैको हुनपर्छ नि, अलिकति गल्ती मेरो होला, अलिकति गल्ती उहाँको होला र अलिकति नजर लाग्यो होला पापी दुनियाँको”, सभापति लामिछानेसँगको विवादबारे आत्मालोचनासहित ढकालले लेखेका छन् ।

उनले पार्टी जोगाउन फेरि एकजुट हुन आवश्यकता रहेको तर्क गरेका छन् । “सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले, मैले बुझाउने प्रयास गरे, म असफल रहेँ, मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे, पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्‍याउने उनीहरूको योजना सफल हुँदै गएको छ, मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन्, अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुन्जेल धेरै ढिलो भइसकेको नहोस्”, ढकालले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउन पर्छ, हामीले बगाएको बुद्धि, पसिना, पैसा र समयले बनाएको पार्टी हो, साना दुस्खले आर्जेको पार्टी होइन, जोगाऔँ, फुटेर होइन, जुटेर, यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने ? खैर, सबै बिर्सौँ तर सङ्कटको यो घडीमा पार्टी जोगाऔँ, जोगाउने मात्र होइन, ८४ सम्म भरोसा युक्त शक्तिको रूपमा स्थापित गरेर, मिसन ८४ लाई सफल बनाऔँ ।”

लामिछाने हिरासतमा रहँदै गर्दा कार्यवाहकको जिम्मेवारी लिएका अर्यालले पहिलो पटक आगामी पुस १९ देखि केन्द्रीय समिति बैठक डाकेका छन् । केन्द्रीय समिति बैठकको सम्मुखका ढकालले थालेको प्रयासलाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ । सुरुवातमा ढकालमाथि कारबाही गर्दा बाँडिएको केन्द्रीय समितिले आत्मालोचनासहित पुनर्बहाली नगराउला भन्न सकिन्न । हिरासतमा पुगेका लामिछानेले पनि पार्टीलाई ट्रयाकमा ल्याउन उपायहरू खोजिरहेको रास्वपाका कतिपय नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट