काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेको छ। सामान्य अंकले बढेर नेप्से परिसुचक २५८६.२३ विन्दुमा बन्द भएको हो।
यसदिन नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब एक करोड रूपैयाँ वृद्धि भएको हो। आज ३१५ वटा धितोपत्रको एक करोड ८६ हजार ७०५ कित्ता सेयर किनबेच भएको हो। बिहीबार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटाको घटेको छ। यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४९५ रूपैयाँ कायम भएको छ। सामुदायिक लघुवित्तको मूल्य ९.९६ प्रतिशतले दरले बढेर प्रतिकित्ता मूल्य दुई हजार १७५ रूपैयाँ पुगेको छ। बिहीबार सपोर्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ७६० रूपैयाँ कायम भएको छ। यस्तै, बिहीबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य २७० रूपैयाँमा ४६ करोड १७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ।