एमाले आफैं सरकारको कामप्रति असन्तुष्ट !-Sutra News

एमाले आफैं सरकारको कामप्रति असन्तुष्ट !

बिहिबार, १८ पौस २०८१

बिहिबार, १८ पौस २०८१

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले सरकारको कामबारे समीक्षा गरेको छ । बिहीबार बसेको सचिवालय बैठकमा एमालेले सरकारको कामको समीक्षा गरेको हो ।



यद्यपि, स्वयम् सत्ताको नेतृत्व लिएको एमालेले सरकारको काम आशातित नभएको निष्कर्ष निकालेको छ । आशातित काम नभएको निष्कर्ष निकालेको एमालेले सरकारलाई डेलिभरी दिने गरी काम गर्न सुझाएको छ ।

“दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौं”, सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, “अहिले भइरहेको काम पर्याप्त छैनन्, अपेक्षाअनुसार कामलाई तिव्रता दिनुपर्छ ।”

एमालेले देखिनेगरी डेलिभरी दिने पाटोमा कमजोरी रहेको निष्कर्ष निकालेको छ । विकास निर्माणको पाटोमा काम हुन नसकेको र अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा अझै तदारुकता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

“६ महिनाको अवधिमा केही काम भएका छन्, तर थुप्रै कामहरु गर्न बाँकी छन्”, बैठकको छलफलबारे ज्ञवालीले भने, “जनतालाई देखिनेगरी डेलिभरी दिने पाटोमा काम गर्न आवश्यक छ, विकास निर्माणको पाटोमा काम गर्न आवश्यक छ, अर्थतन्त्रलाई लयमा ल्याउने सन्दर्भमा ध्यान केन्द्रीत गर्नुपर्छ ।”

नेपाली कांग्रेससँग सरकार गठनपूर्व भएको ७ बुँदे सहमतिअनुसार संविधान संशोधन, संघीयताको कार्यान्वयन, विचाराधिन विधेयकहरुमा छिटो टुंग्याउने जान पनि सचिवालय बैठकले सुझाव दिएको ज्ञवालीले बताएका छन् ।

बैठकमा कांग्रेस–एमाले सहकार्यको सन्दर्भमा पनि छलफल भएको छ । जसलाई लिएर केही असन्तुष्टिसमेत व्यक्त भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बिच असार १७ को मध्यराति भएको सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० मा प्रधानमन्त्री बनेका थिए । दुई दलबिच सहमति बनेको ६ महिना पूरा भएको छ भने सरकार गठन भएको साढे ५ महिना पूरा भएको छ ।

साढे ५ महिनाको अवधिमा सरकार गठनपूर्व भएका सहमतिअनुसार पनि सरकार काम गर्न सकेको छैन । एमालेले बैठक नै राखेर सरकारको समीक्षा गर्दा नेपाली कांग्रेसले पनि अनौपचारीकरुपमा सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताइरहेको छ ।

विशेषगरी अर्थतन्त्रलाई लयमा लैजाने सन्दर्भमा सरकार चुकेको बुझाई दुई दलभित्र देखिन्छ । पछिल्लो समय बाह्य सम्बन्धको सन्दर्भमा सरकार असफल हुँदै गएको चर्चा आमरुपमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट