काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको चिन्ता छोडेर अब पार्टी र संगठन निर्माणमै खटिने बताएका छन्।
बिहीबार बसेको पार्टी स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थिति र कांग्रेस–एमाले गठबन्धनबारे बोल्दै माओवादी अध्यक्ष प्रचण्डले सरकार गिराउन नहिँड्ने तर आफ्नै कारणले ढले धेरै चासो नदिने भनाइ राखेका हुन्।
बिहीबार बसेको स्थायी समिति बैठकमा बोल्दै उनले पार्टी पुनःनिर्माणमै केन्द्रित हुन सबैलाई निर्देशन दिए। अहिले आफ्नो चिन्ता संगठन र पार्टी निर्माणमा रहेको भन्दै उनले पार्टी पुनर्निाणको अभियानलाई प्रभावकारी बनाउने बताए।
‘सरकार पाँचै वर्ष टिकोस् भनेर पूजा गरेर हिँड्ने कुरा पनि भएन। तर, अहिले हामीले सरकारको बारेमा केही सोचेका छैनौँ। सरकार बनाउन हिँड्ने, यताउता गर्ने हामीलाई फुर्सद पनि छैन। त्यो काम पनि होइन,’ प्रचण्डको भनाइ छ, ‘सरकार आफ्नो किसिमले जान्छ जाओस्, आफ्नो किसिमले जाँदा जहाँजहाँ जान्छ, भड्खालामा परे नि परोस्१ यो उम्रेर अगाडि आए पनि आओस्।’