काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल एकपछि अर्को गरी विवादमा तानिएका छन् ।
पत्नी अन्जला कोइराला उमा गौरी कृषि सहकारीको रकम अपचलनमा मुछिएकी छिन् । जुन घटनामा जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ । यद्यपि, पक्राउ पुर्जी जारी भएसँगै कोइराला फरार छिन् ।
पत्नी फरारको सूचीमा परिरहँदा पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध पनि अर्को ठगी धन्दामा संलग्नता भएको पाइएसँगै उच्च अदालत विराटनगरले पक्राउ पुर्जी जारी गरेको छ । उनी विरुद्ध उच्च शिक्षा एमबिबिएस पढाउनका लागि नाम निकालिदिने भन्दै पैसा उठाउँदै ठगी गरेको घटनामा पक्राउ पुर्जी जारी भएको छ ।
पोखरेलले सप्तरी अग्नीसाईर कृष्णसवरन गाउँपालिका ५ बकधुवाका बौआलाल चौधरीसँग छोरीको एमबीबीएसको इन्ट्रान्समा नाम निकालिदिन्छु भन्दै ३८ लाख ८० हजार लिएको पाइएको छ । ३८ लाख ८० हजार पैसा बुझाउँदा पनि नाम ननिस्किएपछि घटना बाहिरिएको थियो । नाम ननिस्किएपछि पैसा माग्दा उल्टै धम्की दिएपछि बौआलाल चौधरीले प्रहरीमा जाहेरी दिएका थिए ।
यद्यपि, घटना साढे दुई वर्ष अघिको हो । २०७९ साउन १९ मा बौआलाल चौधरीले जिल्ला प्रहरी कार्यालय, मोरङमा जाहेरी दिएका थिए । जुन जाहेरीमा गत भदौ ३१ गते मात्र उच्च अदालत विराटनगरले पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो । जसमा आलटालका बिच पुस ११ मा अदालतले प्रमाणीकरण गरेको हो ।
पोखरेलले शक्तिको दुरुपयोग गरेपछि सुरुमा प्रहरीले यादवको जाहेरी समेत दर्ता गर्न नमानेको विषय पनि खुलेको छ । जसमा यादवले हुलाकमार्फत जाहेरी दर्ता गराएका थिए । उनले २०७९ साउन १८ मा हुलाकमार्फत रजिष्ट्री गरी जिल्ला प्रहरीमा पठाएका थिए ।
पत्निपछि स्वकीय सचिव पनि विवादमा मुछिँदा पोखरेलमाथि पनि आशंका जन्मिएका छन् । यद्यपि, गम्भीर प्रश्नको घेरामा परे पनि उनीमाथि न त नैतिकताको दबाब देखिन्छ न त उनी संलग्न पार्टीले नै कुनै सरोकार राखेको छ । अन्यका अपचलनमाथि छानबिन गर्ने जिम्मेवारी पाएको सार्वजनिक लेखा समितिकै सभापति बदनामित भइरहँदा अन्य विषय के होलान् प्रश्न छ ।