काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट हटाएका छन् । शुक्रबार संसद् सचिवालयलाई पत्र लेख्दै ऋषिकेशले स्वकीय सचिवको पदबाट अनिलकुमारलाई हटाएको जानकारी गराएका हुन् । उनले अनुसन्धानमा सघाउनका लागि जिम्मेवारीबाट हटाएको बताएका छन् ।
ठगीमा संलग्नको आरोप लागेका पोखरेलमाथि उच्च अदालत विराटनगरले अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । पुस ११ मा परमादेश दिएको विषय बिहीबार मात्रै सार्वजनिक भएको थियो । परमादेशको विषय सार्वजनिक भएसँगै नैतिक संकटमा परेका पोखरेलले शुक्रबार मात्रै जिम्मेवारीबाट निष्कासन गरेको पत्र पठाएका हुन् ।
‘मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु’, संसद सचिवालयलाई ऋषिकेशले लेखेको पत्रमा भनिएको छ ।
ऋषिकेशका स्वकीय सचिव अनिलकुमारले सप्तरी अग्नीसाईर कृष्णसवरन गाउँपालिका ५ बकधुवाका बौआलाल चौधरीसँग छोरीको एमबीबीएसको इन्ट्रान्समा नाम निकालिदिन्छु भन्दै ३८ लाख ८० हजार ठगेका थिए । छोरीको नाम ननिस्कीएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाई चौधरीलाई हस्ताक्षर गराएका थिए ।
जुन घटनापछि चौधरीले प्रहरीमा २०७९ साउन १९ मा जाहेरी दिएका थिए । जसमा सुरुमा प्रहरीले जाहेरी लिन नै नमानेपछि चौधरीले हुलाकमार्फत पत्र पठाएका थिए ।
जुन जाहेरीअनुसार गत भदौ ३१ गते मात्र उच्च अदालत विराटनगरले पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो । जसमा आलटालका बिच पुस ११ मा अदालतले प्रमाणीकरण गरेको हो ।
अनिलकुमार एमालेको मोरङ जिल्ला कमिटी सदस्यसमेत हुन् । प्रहरी छानबिन सुरु भएकै बिच ऋषिकेशले उनलाई सार्वजनिक लेखा समितिको सभापति भएसँगै स्वकीय सचिवमा नियुक्त गरेका थिए ।
सम्बन्धित समाचार