काठमाडौं । ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीको मूल्य पुनः बढ्न थालेको छ। खोल्सीको ‘कालो सुन’ को उपमा पाएको अलैँचीको मूल्य शुक्रबार प्रतिमन (४० किलोग्राम) दुई हजार रुपियाँ बढेको हो।
पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताएका छन्। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुगेको छ। शुक्रबार गुणस्तरीय अर्थात डम्बरसाई (भर्लाङ) प्रजातिको अलैँची प्रतिमन एक लाख नौ हजार रुपियाँमा कारोबार भएको बरालले बताए ।
उनका अनुसार गोलसाई प्रजातिको अलैँची प्रतिमन एक लाख सात हजार रुपियाँमा कारोबार भएको छ। चलनचल्तीको अर्थात रामसाई, चिवेसाईजस्ता प्रजातिको अलैँची भने मनको एक लाख पाँच हजार रुपियाँमा कारोबार भएको उनले जानकारी दिए । व्यवसायीका अनुसार बिहीबारसम्म चलनचल्तीको अलैँची प्रतिमन एक लाख तीन हजार रुपियाँसम्ममा कारोबार हुँदै आएको थियो।
लामो समयपछि यो अलैँचीको मूल्य बढे पनि उत्पादन भने घटेको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यसवर्ष जिल्लामा दुई हजार ५३१ मेट्रिकटन मात्र अलैँची उत्पादन भएको छ। गत वर्ष दुई हजार ५४१ मेट्रिकटन अलैँची उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार ताप्लेजुङमा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ।