बैँस उर्जा हो । बैँस जवानी हो । बैस त बैशाख हो । बैँस हराभरा पुर्णताउन्मुख कलकल किरण हो । बैँसमा फूलहरु फुल्छन।धरती हरियो हुन्छिन । पालुवा पलाउछन हागाहरुमा । मन्जरीमा माहुरी आएर बस्छे । कोपिलामय देखिन्छ यो जगत। रमाइलो लाग्छ मनको तारमा धरतीको झन्कार मिल्दा । बैँस जवानीको उभार हो । बैँस नीर्मल पानीले भरिएको हिमताल हो। हिम चट्टान फोरेर बाहिर उम्किन खोज्छ नीर्मल धारा। तर सम्हालेर राख्छे लहरौ लाख धारालाइ धरतीले र फुटदैन हिमताल हम्मेसी ।
हिमताल फुटेको बहुत कम सुन्नमा आउँछ किनभने प्रकृतिमा पनि अनुशासन छ। यो चराचर जगत सारा अनुशासनमा आवद्ध छ। जुन पुर्णिामामा मात्रै पुर्ण उदाउछे। उस्ले कुर्नुपर्छ आफ्नो बैँस देखाउन तीस रात। बैँस आवेग होइन यो त शुभकर्मका लागि प्रकृतिले दिएकी बल हो। यो सम्प्राप्ती हो। यो भविस्यका लागि चाहिने बलको संचिति पनि हो।
बैँस सम्हाल्न मै हु भन्ने सिकन्दरहरुलाइ पनि हम्मे हम्मे पर्दोरहेछ । बिश्व चर्तित अलेक्जेन्डर महानले पनि बैसलाइ सम्हाल्न नसकेर सयौं स्त्रीहरुको प्रेममा फसे र रक्सीको नसामा झुमे। फलतः ३३ बर्षकै उमेरमा दुखान्त अन्त भएको थियो उनको । एउटा सामान्य मानिस पनि बैशले मातेको हुन्छ । तर बैँस उर्जा हो । यो उर्जाको सापेक्षित ढंगले उपयोग भयो भने जो कोहि ब्यक्ति यो दुनियाँ बाट अजर अमर भएर बिदा हुन्छ । बैँस आफै भियग्रा हो । बैशले निहुरिनु जान्दैन । बैसले सम्झौता देख्दैन । बैँस त त्यो शक्ति हो । जस्को उभारमा सम्पुर्ण जगतको उन्नति झल्किरहेको हुन्छ ।
तिमी बैसको प्रबेगलाइ दुरुपयोग गर्छौ। संसारका नियोजित विध्वंसहरु बैसको दुरुपयोग हो । बैस त कोमल किरण जस्तै कल्लोल हुनुपर्ने हो , तर बैँस निरीह नारीको यौन शोषणमा प्रयोग हुन्छ भने तिम्रो त्यो बैँस, बैँस नभएर बलेर निभेको कोइला हो। बैस ताकत हो । बैँस जोस हो । बैँस आँट हो । बैँस फुर्ती हो। तर किन मानिसहरू प्रकृतिको यो सुन्दर मुस्कान लाई घृणित कार्यमा प्रयोग गरिरहेछन ?
बैसकै कारणले हो हिजो दुर्योधनले द्रौपतीलाइ जुवाको खालमा बेश्या भनेको । बैसकै कारणले हो हिजो हिटलरले ६० लाख यहुदीलाइ एउटै चिहानमा पुरेको । हिटलरको यातना सिबिरमा मृत मानिसहरुको जुत्ताको थुप्रो अझैसम्म छन। त्यो सब शक्तिको उन्माद थियो। बैँसको दुरुपयोग थियो ।
बैँस शक्तिको अर्को रुप हो। त्यही बैँस हो नि हिजो भगवान बुद्धमा पनि आयो र त्यही बैँस हो भियतनामका होचिमिन्हमा पनि आयो। त्यही बैँस हो । युगान्डाका इदी अमिनमा पनि आयो तर उनी मानिसका मासु खान्थे। त्यही बैँस हो ओसामा बिन लादेनमा पनि आयो तर त्यही बैँस हो भारतका गान्धीजीमा पनि आएको थियो ।
बैँस, यो त उन्नतिका लागि खोलिएको सुमार्ग हो। यो त निर्माणका लागि हालिएको पुल हो। योत अगाडिको कठिन जिन्दगी देखाउने ऐना हो। यो हो बैशाखी सपना । जीवन पारी तिम्ले थुप्रैपटक हेमन्त शिशिरको सामना गर्नपर्छ है भनेर दिएको बाटो खर्च पो होत बैँस । तर के थाहा तिमी बैँसलाई उन्मादमा बदल्छौ भन्ने ! के थाहा तिम्रो लागि बैँस सडकमा हिड्ने नारीलाई जिब्रो पडकाउनमा खर्च हुन्छ ? के थाहा तिम्रो बैँस कसैको अपहरण र डन भनेर चिनिनुमा खर्च हुन्छ । के थाहा तिम्रो बैँस ओठको लिपिस्टिकमा मात्रै अनि सुडा्ैल तिघ्रा र नितम्ब देखाएर भाले पुरुषको नजर आफुतिर आकर्षण गर्नमा मात्रै खर्च हुन्छ । के थाहा तिम्रो बैँस अबैध सन्तानलाइ तुहाएर मार्न अहिलेका महङ्गो नर्सिङ होममा गएर टुंगिन्छ भन्ने ।
बैँस जानियन भने खर्बारीमा लागेको आगो हो । यो एकैपटक बल्छ र निस्सार निभ्छ । यस्को न्यानोले कसैलाइ सेक्तैन। यो सिर्फ ज्वाला हो। खरानी मात्रै रहन्छ जलेर ! तर घरको छानो त उदाङ्ग रहन्छ किनभने खरानीले घर छाइदैन। बैँस जानियन भने बन्दुकमा भरिएको बारुद हो। सहि निसानामा पर्यो भने यो सुरक्षा कवच पनि हो ।
बैँस उर्जा हो र मानिस यो उर्जाशील समयलाइ उपयोगी बनाउ्नु भन्दा पनि आफ्नो शक्ति प्रदर्शन तिर लाग्छ । बैशमा मानिस सुबाटो तिर भन्दा पनि कुबाटो तिर बढी आकर्षक हुन्छ । बैँस पोखेर पछुताउनेहरुको भिडमा मैले तिम्लाइ कहिले पनि भेट्न नपरोस ।
बैस त शक्ति हो, बैस त आगो हो, बैस त झिल्का हो , बल्छ धपक्कै। उज्यालो देखाउने शक्ति दिएको हो भगवान (प्रकृति) ले तिमीलाइ, मलाई अनि उनीलाइ र हामी सबैलाई । बैँस भेल हो। भेल शक्तिशाली हुन्छ। किनारा जति सबै बगाएर लैजानी हो भने फेरि कसरी बग्नु र जीवनभरीलाइ। किनारा सुरक्षा गर्नुपर्छ बेगले। किनारा भत्काउने होइन भर्नुपर्छ । बाटो त समुन्द्र सम्म मिसिने राजमार्ग हो तर प्रबेग र आवेगले थुनियो भने जम्नुपर्छ खुम्चिनु पर्छ । जम्नु बासी हुनु हो। बग्नुपर्छ जिन्दगी बग्नैको लागि हो ।
बैँस देउ मलाई । म तिमीलाई सिङ्गै सिर्जनात्मक जिन्दगी दिन्छु । सिङ्गो जिन्दगी भन्दा धेरै उर्जावान हुन्छ एउटा बैँस । मीठो हुन्छ बैँस । स्वादिलो हुन्छ बैँस । बैसमै फुल्छन धेरै सपनाहरू । बैशाख मेरो जुनेली जीवन । उत्ताउलो भए भने पोखिन्छु म। बैँस मध्याह्न हो । जीवनको सबैभन्दा उर्जा उत्फुल्लीत पल बैँस । मादमा मोहित म बैँशले झिलिमिली म । के म पनि बैसमा कुखुराको भाले जस्तै कुर्लिदै, बास्दै, उफ्रीदै सिउर रातो पारेर पोथी बटुल्दै हिडु ?
जवानी त किराहरुलाइ पनि आउँछ । खोइ के गरेर बैँस बोकेर हिड्ने कमिलाहरुले यहाँ ? खै के गरिर कोइली बाठो भएर , जब बच्चा कोरल्ने फुल पनि कागको गुडमा गएर पार्छे।
बैश त मखमली किरण जस्तै कलकल हुनुपर्छ । बैँस बसन्त हो। बसन्तको मगमगमा को मोहित नभएको छ र ? बैशको कलकल धारमा को न्यौछावर नभिज्को छ र ? बैस त शीतल शीत जस्तै कोमल हुनुपर्छ । बैस त बैशाख जस्तै भरिलो र जुन जस्तै शितल शान्त कोमल हुनुपर्छ, सम्यमित र सम्पोषित हुनुपर्छ । तर हाम्रो बैँस भाले खोज्दै रन्थनिएर हिड्ने पोथी कुखुरी जस्तो पो छ । बैँस उज्यालो हो । यस्को आलोकमा बले हिजो बुद्ध ,लक्ष्मी बाइ,मिर्जा गालिव,अब्राहम लिन्कन,पृथ्वीनारायण, अमर सिह, भानुभक्त, सीता, भृकुटी, महाकवि देवकोटा, पारिजात र अरु अरु देशभक्त मानवहरु। बैँस सिर्फ तिम्रो जवानीको पानी मात्रै होइन। बैँस सिर्फ तिम्ले केटी च्यापेर सडकमा गाला जोडी हिड्नलाई आएको होइन । बैँस सिर्फ सुन्दरता प्रदर्शन होइन। बैस त हिमाल बाट उठदै आएको नुतन उज्यालो हो।
बैँस कुनै बेश्यालयको झ्यालबाट रुमाल हल्लाउन आएको होइन । बैँस त जुनेली आभा हो जस्ले अभेद्द अन्धकारमा लडिरहेका यात्रीहरुलाइ बाटो देखाओस । बैँस शक्ति हो यसलाई सिर्जनामा रुपान्तरण गर्न सकियो भने यसले मानव जिन्दगीमा धेरै परिवर्तन ल्याउन सक्छ । बैँस केवल जवानी होइन । मानिसहरू जीवनको यति महत्वपूर्ण उर्जालाइ हिजोआज दुरुपयोग गरिरहेका छन जस बाट समाजमा नकारात्मक संदेश फैलिरहेको छ ।
बैँस ताकत हो । यो ताकतको उपयोग मानव कल्याणमा उपयोग किन नगर्ने ? यो ताकत सधैं रहिरहदैन । समय ब्यतित सगै बैसको घाम क्षितिज तिर ढल्किन्छ । यो शक्ति ढल्नु पुर्वनै यस्को सदुपयोग गर्न र यो उर्जालाई भविस्यका लागि संचिति गर्न सक्नुपर्छ । रुपान्तरण बाट मात्रै यसबाट लाभ लिन सकिने हुनाले बल छदैमा यस्को सदुपयोग गरौ । बैँसलाई दोष दिएर गलत कर्म गरेर उम्कनुको परिणाम निकै घातक हुन्छ । समाजमा ब्याप्त हत्या हिसा बलात्कार चोरी छली बैसकै दुरुपयोग हो । मानिस भित्र रहेको अन्तर्निहित अनन्त शक्ति पुन्जको श्रोत मानिस आफै हो । यो श्रोत भनेको उस्को बिपुल जवानी हो । यो जवानीले कतिलाई बनाउछ खरानी र कतिलाइ बनाउछ सबको हितको परानी ।
बैँस उन्मत्त खहरे खोला जस्तो किनारा बगाउन होइन, किनारा सुरक्षा गर्न आवोस । खुट्टा नै भाचिने गरि लामो हिल जुत्ता लगाएर सडकमा जवानी देखाउदै हिंड्नेको लागि होइन सादगी जीवन बाचेर सन्सारको रक्षा गर्नको लागि आवोस बैँस । तिजका नाउँमा तीन महिना देखि भोजभतेर खादै हिड्ने र गरिबलाइ मिच्दै हिड्ने प्रवृती पनि यहि बैँस कै उपज हो ।
मानिसहरू बैँस देखाउछन । बैशाख त हरेक बर्ष दोहोरिन्छ तर प्राकृतिले बैसको धाक कहिले लगाएन। हर जिवित प्राणीमा एकपटक बैँस फुल्छ । हरेक बोटबिरुवा देखि मानवीय जीवनमा समेत बैशाख झुल्छ नै, तर ! यो झुलाइमा मानवले कतिलाई रुवायो कि वा कतिलाइ हसायो सुख अ्मन चैन र शान्ति दिन सक्यो । उर्जाको यो असिम ससिम सदुपयोग जीवन हितका लागि लगाउनुपर्छ नकि उत्सृङ्खलतामा ।