काठमाडौं । डा. भीम रावल नेकपा (एमाले)लेबाट निष्कासित भएपछि देश दौडाहमा निस्किएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘मातृभूमि जागर अभियान’ घोषणा गरेका रावल आज (शनिबार) कोशी प्रदेश पुगेका हुन् । फुटबल प्रतियोगिताको उद्घाटन गर्न रावल सुनसरी पुगेका हुन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै रावलले एमालेका सबै नेताले अध्यक्ष केपी ओलीको ठट्टा र उखान टुक्का सिकिसकेको टिप्पणी गरे । आफूले उठाएको सत्यतथ्य कुरा खण्डन गर्न नसकेपछि एमाले नेताहरूले लुरे तर्क गरेको उनले बताए । ‘उहाँ(ओली)को एउटै मूल मन्त्र भनेको बामाले हो । बामाले भनेको बाको मात्र नाम लिने हो । अर्को जसरी हुन्छ पद लेऊ हो ।’ उनले पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीलाई दर्जनौं प्रश्न गरेका थिए ।
पहिलेको एमाले अहिले रंग खुइलिएर बामालेमा परिणत भएको उनले बताए । उनले कांग्रेस र एमालेलगायत दलको सत्ता समीकरणलाई खिचडीको संज्ञा दिए । ‘एउटा दल बन्न समान दर्शन, विचार र कार्यक्रम हुनुपर्छ । मेरो राष्ट्रको झन्डाजस्तै स्पष्ट छ । नेपाललाई नेपालजस्तो बनाऊ भन्ने छ भाले न पोथी खिचडी त्यही छन् म छैन,’ उनले भने । जनताका कुरा सुनेर मात्रै दल दर्ता गर्ने उनले बताए ।