पार्टी बैठकमा ओलीले भने– गुटबन्दी र अराजकता स्वीकार्य हुँदैन-Sutra News

पार्टी बैठकमा ओलीले भने– गुटबन्दी र अराजकता स्वीकार्य हुँदैन

आइतबार, २१ पौस २०८१

आइतबार, २१ पौस २०८१
एमाले केन्द्रीय समिति बैठक ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो नबनाउँने बताएका छन् ।



आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरे। उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे ।

“हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ ।”, अध्यक्ष ओलीले भने, “पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।”

पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट