काठमाडौं । गोर्खा मिडियाका सञ्चालकसमेत रहेका छविलाल जोशीले जीबी राई र रवि लामिछानेले आफ्नो हस्ताक्षर कीर्ते गरेर कम्पनीको उद्देश्य परिवर्तन गराएको बताएका छन् ।
स्वर्णलक्ष्मी सहकारीमा भएको अपचलनको अनुसन्धानका क्रममा बयान दिँदै उनले आफू अमेरिका पुगेका बेलामा कम्पनीका अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले आफ्नो हस्ताक्षर किर्ते गरेको दाबी गरेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा जोशीले भनेका छन्, “मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७–०७–०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युटलगायतका कागजातहरुमा मेरो कीर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरुको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरुसँग बसी कम्पनीमा काम गर्नुहुँदैन भन्ने ठानी मैले निजहरुसँग सहकार्य गर्न छाडेको हुँ ।”